डुटेर्टेको लागुऔषधविरोधी अभियानमा आठ सहअभियुक्त
मनिला, १३ मङ्सिर : फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेविरुद्ध लागुऔषधविरोधी अभियानका क्रममा भएका हत्यासम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) मा सोमबार सुनुवाइ सुरु हुँदैछ । अभियोजन पक्षले हत्याको योजनामा उहाँलाई सहयोग गरेको आरोपमा आठ पूर्वअधिकारीको नाम सार्वजनिक गरेको छ ।
आइसीसीका अनुसार सन् २०११ देखि २०१९ सम्म नागरिक जनसङ्ख्यामाथि व्यापक र योजनाबद्ध आक्रमण हुँदा हजारौँ मानिस मारिएका थिए । उक्त अवधिमा डुटेर्टे दाभाओका मेयर र पछि राष्ट्रपति हुनुहुन्थ्यो ।
सहअभियुक्तका रूपमा उल्लेख गरिएका आठै जना सन् २०१६ देखि २०२२ सम्मको डुटेर्टे नेतृत्वको सरकारमा महत्त्वपूर्ण पदमा थिए । तीमध्ये एक जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
६४ वर्षीय रोनाल्ड ‘बाटो’ डेला रोजा हाल सिनेटर हुनुहुन्छ । उहाँ डुटेर्टेको लागुऔषधविरोधी अभियानका प्रमुख कार्यान्वयनकर्ता तथा राष्ट्रिय प्रहरी प्रमुख हुनुहुन्थ्यो । पक्राउ पुर्जी कार्यान्वयन गर्ने प्रयास असफल भएपछि उहाँ गत मेदेखि लुकेर बस्नुभएको छ ।
५२ वर्षीय सिनेटर क्रिस्टोफर लरेन्स ‘बोङ’ गो डुटेर्टेका १८ वर्षसम्म व्यक्तिगत सहयोगी हुनुहुन्थ्यो । पूर्वप्रहरी अधिकारी आर्तुरो लास्कानासले दाभाओ डेथ स्क्वाडका हत्याहरू डुटेर्टे वा गोसहितका सहयोगीको आदेशमा भएको आरोप लगाउनुभएको छ । गोले आरोप अस्वीकार गर्नुभएको छ । लास्कानासले आइसीसीमा बयान दिने अपेक्षा गरिएको छ ।
८० वर्षीय पूर्वन्यायमन्त्री भिटालियानो अगुइरे द्वितीयलाई अभियोजन पक्षले डुटेर्टे र दाभाओ डेथ स्क्वाडका कानूनी सल्लाहकारका रूपमा उल्लेख गरेको छ । उहाँले अपराधमा संलग्नता अस्वीकार गर्नुभएको छ ।
६३ वर्षीय पूर्वराष्ट्रिय प्रहरी प्रमुख ओस्कार अल्बायाल्देले लागुऔषधविरोधी अभियानका क्रममा हत्याको योजना बनाउन सहयोग गरेको अभियोजन पक्षको आरोप छ । उहाँले डुटेर्टेले लागुऔषधका संदिग्धलाई मार्न आदेश नदिएको बताउनुभएको छ ।
पूर्वप्रहरी अधिकारी भिसेन्टे दानाओ, इसिद्रो लापेन्या र राष्ट्रिय अनुसन्धान ब्युरोका पूर्वनिर्देशक दान्ते गिएरान पनि सहअभियुक्तको सूचीमा छन् । दानाओमाथि लागुऔषधका संदिग्धलाई सार्वजनिक रूपमा धम्की दिएको आरोप छ । लापेन्या डुटेर्टे दाभाओका मेयर हुँदा प्रहरी प्रमुख हुनुहुन्थ्यो भने गिएरानले त्यहाँ अनुसन्धान निकायको क्षेत्रीय निर्देशकका रूपमा काम गर्नुभएको थियो ।
सन् २०२३ मा निधन हुनुभएका पूर्वराष्ट्रिय प्रहरी प्रमुख कामिलो कास्कोलन पनि सूचीमा हुनुहुन्छ । उहाँले डुटेर्टेको कार्यकालमा मनिला प्रहरी प्रमुखसहितका महत्त्वपूर्ण पदमा काम गर्नुभएको थियो ।
