Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस-एएफपी)

मेलबर्न, १३ मङुसिर : अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ । 

आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किएको छ ।

आधाभन्दा बढी मत गणना भइसकेको अवस्थामा केन्द्र–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ । 

स्थानीय मिडियाको प्रक्षेपणअनुसार लेबर पार्टी राज्यको तल्लो सदनमा तेस्रो ठूलो दल बन्न सक्ने अवस्थामा पुगेको छभने त्यसपछि बायाँपन्थी ग्रीन्स पार्टी रहनेछ । 

३६ वर्षीय नेतृ जेस विल्सन अब भिक्टोरियाकी नयाँ मुख्यमन्त्री बन्नुहुनेछ । उहाँ राज्यमा लिबरल पार्टीको तर्फबाट पहिलो महिला मुख्यमन्त्री बन्नुहुनेछ ।

दैनिक अस्ट्रेलियन फाइनान्सियल रिभ्यूले यसलाई ‘अस्ट्रेलियाको सबैभन्दा कठिन काम’ भनेर वर्णन गरेको छ । विल्सनले देशभित्रै सबैभन्दा उच्च रहेको ऋण घटाउन भिक्टोरियामा अस्ट्रेलियन डलर २० अर्ब (अमेरिकी डलर १३ अर्ब) बराबरको योजना अघि सार्नुभएको छ । 

यसमा ढल प्रणालीलाई निजीकरण गर्ने विवादास्पद योजना पनि समावेश छ। “हामी साँच्चै नै अत्यन्तै विनम्ररूपमा महसुस गर्दैछौँ,” विल्सनले चुनावी नतिजाको उभार देखिएपछि आइतबार भन्नुभयो । 

उहाँले भन्नुभयो, “यो ठूलो विशेषाधिकार हो। भिक्टोरियाका जनताले दिएको विश्वासप्रति म पूर्ण रूपमा सम्मान गर्छु ।” 

लेबरकी प्रमुखमन्त्री बेन क्यारोलले दलको हारमा आफ्नो सिट नै सुरक्षीत गर्न असमर्थ हुनुभएको छ । उहाँले मतदान बन्द भएको केही घण्टापछि विल्सनलाई फोन गरी हार स्वीकार गर्दै उहाँलाई वधाई दिनुभएको थियो । 

भिक्टोरियालाई अष्ट्रेलियाको राजनीतिमा नेतृत्वदायी (बेलवेदर) राज्य मानिने भएकाले यस पराजयले अल्बानिजमाथि थप दबाब सिर्जना गरेको छ । उहाँ आफ्नो दोस्रो कार्यकालको मध्यतिर हुनुहुन्छ । 

‘लिबरल सिनेटर’ जेम्स प्याटरसनले राष्ट्रिय प्रसारक एबीसीसँग भन्नुभएको छ, “यो मत परिणामले राज्यमा एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेको लेबरप्रति ‘चकित पार्ने र विनाशकारी अस्वीकार’ देखाएको छ ।

हाल अष्ट्रेलियामा बढ्दो जीवनयापनको लागतप्रति व्यापक असन्तुष्टिका कारण अल्बानिजको लोकप्रियता ऐतिहासिक न्यून विन्दुमा झरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैङ्कले यस महिना ब्याजदर फेरि बढाएर १८ वर्षको उच्च विन्दुमा पु¥याएको छ। मध्यपूर्वमा चलिरहेको युद्ध र लगातारको मुद्रास्फीति दबाबलाई यसको कारण बताइएको छ ।

यस नतिजाले अति–दक्षिणपन्थी ‘वन नेशन पार्टी’को लागि पनि सफलताको सङ्केत गरेको छ । यो पार्टी राज्यमा पहिलोपटक सिट जित्ने अवस्थामा देखिएको छ । शनिबार राति आयोजित सभामा नेतृ पलिन ह्यान्सनले लेबरको पराजयको श्रेय आफूलाई दिनुभएको छ । 

“तपाईँहरूले गर्नुभएको हो । जनताले नै गरेका हुन्,” उहाँले समर्थकहरूलाई भन्नुभयो । वन नेशनले भिक्टोरियाको माथिल्लो सदनमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावना देखिएको छ । वर्षौंदेखि किनारामा रहेको वन नेशन अहिले वर्तमान व्यवस्थाप्रति व्यापक असन्तुष्टिका कारण अस्ट्रेलियाका सबैभन्दा लोकप्रिय राजनीतिक दलहरूमध्ये एक बन्न पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan