प्रधानमन्त्रीसँगको निकटताका आधारमा कसैले उन्मुक्ति पाउनु हुँदैन : सभापति थापा
काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक आस्था, पार्टीगत आबद्धता वा प्रधानमन्त्री तथा मन्त्रीसँगको निकटताका आधारमा कसैले पनि कानुनी उन्मुक्ति र अतिरिक्त सुविधा पाउन नहुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले कानुन सबैका लागि समान हुनुपर्नेमा जोड दिएका हुन्।
उनले नेपाली कांग्रेसमा आबद्ध व्यक्ति गलत कार्यमा संलग्न भए उसले कुनै अतिरिक्त सुविधा पाउन नहुने तर कांग्रेस भएकै आधारमा राज्यको पूर्वाग्रह, दुराग्रह वा अत्याचारको सिकार पनि हुन नहुने बताए।
यही सिद्धान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको हकमा पनि लागू हुने उनको भनाइ थियो।
‘कोही व्यक्ति रास्वपामा लागेको छ वा अहिले सरकारको समर्थक छ भन्दैमा सार्वजनिक टिप्पणीका आधारमा नेपाली कांग्रेसले उसलाई अपराधी करार गर्दै हिँड्दैन। कोही अपराधी हो कि होइन भन्ने निर्णय गर्ने काम हाम्रो होइन,’ थापाले भने।
कांग्रेसको राजनीतिक चरित्र कसैविरुद्ध सार्वजनिक रूपमा आरोप लगाउँदै हिँड्ने नभएको स्पष्ट पार्दै उनले कुनै नेता, मन्त्री वा रास्वपाका नेताबारे सार्वजनिक रूपमा कुरा उठेकै आधारमा दोषी ठहर गर्न नमिल्ने बताए।
तर, प्रधानमन्त्रीको निकट व्यक्ति, प्रधानमन्त्रीको टिममा रहेको व्यक्ति वा रास्वपा सभापतिको निकट रहेकै आधारमा कसैले कानुनी छुट पाउन नहुने उनले स्पष्ट पारे।
‘कोही मान्छे रास्वपाको नजिक छ वा प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपा सभापतिको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, छुट पाउनु हुँदैन,’ थापाले भने।
