Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यात्रु लुट्ने यातायातको खुला छूट ! ईभीदेखि इनड्राइभसम्म मनपरी भाडा, ट्राफिक प्रहरी र यातायात कार्यालय किन मौन ?

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
newsabhiyan

चाडपर्वको मौका छोपेर दोब्बर भाडा असुली, सवारीमा कोचाकोच यात्रु, ईभीको सुरक्षामाथि प्रश्न र राइड सेयरिङ कम्पनीको मनोमानी; नियमन गर्ने निकायको जिम्मेवारी कहाँ हरायो ?

काठमाडौं, १३ मंसिर । चाडपर्व आउनासाथ नेपाली यात्रुका लागि घर पुग्ने यात्रा खुसीभन्दा बढी सास्ती, आर्थिक भार र जोखिमको विषय बन्ने गरेको छ।

दशैं, तिहार तथा छठजस्ता ठूला पर्वमा गाउँघर फर्किने यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले मनपरी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र यात्रुको बाध्यतालाई कमाइको अवसर बनाउने प्रवृत्ति दोहोरिँदै आएको छ।

यसपटक पनि यातायात क्षेत्रमा देखिएको बेथिति र यात्रुमाथिको व्यवहारले राज्यको नियमनकारी संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ।

सार्वजनिक यातायातमा यात्रु खचाखच राख्ने, निर्धारित क्षमताभन्दा बढी यात्रु चढाउने, छोटो दूरीमा समेत महँगो भाडा असुल्ने र यात्रुको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति चाडपर्वको समयमा झन् बढेको यात्रुहरूको गुनासो छ।

यात्रुको चापअनुसार पर्याप्त सवारी व्यवस्थापन गर्नुपर्ने निकायहरू मौन बस्दा यातायात व्यवसायीको मनोमानीले प्रश्रय पाएको आरोपसमेत लाग्दै आएको छ।

यसपटकको चाडपर्वमा उपत्यकाबाट विभिन्न जिल्लातर्फ सञ्चालन हुने सार्वजनिक यातायातमध्ये विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग उल्लेख्य देखिएको थियो।

त्यसपछि हाइस, माइक्रोबस तथा हेभी सवारीसाधनहरू पनि यात्रु ओसारपसारमा सञ्चालन भएका थिए। तर, यात्रुहरूले विशेषगरी केही ईभी सवारीसाधनको सञ्चालन, प्राविधिक अवस्था र सुरक्षाबारे प्रश्न उठाएका छन्।

ईभी सवारीसाधनमा समस्या देखिएको, बीच बाटोमै गाडी रोकिने, लक प्रणालीमा समस्या आउने तथा केही घटनामा आगलागीसमेत हुने गरेको गुनासो सार्वजनिक भएका छन्।

यद्यपि सबै ईभी सवारीसाधन असुरक्षित वा कमसल छन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन। विद्युतीय सवारीसाधनको गुणस्तर, ब्याट्री सुरक्षा, ब्रेकिङ प्रणाली, प्राविधिक मर्मतसम्भार र चालकको दक्षताको छुट्टाछुट्टै परीक्षण आवश्यक छ। तर, यात्रुको ज्यानसँग जोडिएको विषयमा सामान्य गुनासोसमेत बेवास्ता गर्नु राज्यका निकायका लागि गम्भीर लापरबाही हुन सक्छ।

ईभीको सुरक्षा परीक्षण कसले गर्ने ?
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ। वातावरणीय प्रदूषण न्यूनीकरण, इन्धन आयातमा निर्भरता घटाउने र आधुनिक यातायात प्रणाली विकास गर्ने उद्देश्यले ईभीलाई प्रोत्साहन गरिँदै आएको छ। तर, विद्युतीय सवारीसाधनको संख्या बढ्दै जाँदा त्यसको प्राविधिक परीक्षण, मर्मतसम्भार, ब्याट्री व्यवस्थापन र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक हुन्छ।

कतिपय यात्रुको गुनासोअनुसार केही ईभी गाडीमा बीच बाटोमै एक्कासि स्टार्ट बन्द हुने, विद्युतीय प्रणालीमा समस्या आउने, ढोका लक हुने तथा सडकका खाल्डाखुल्डी र असहज अवस्थाका कारण नियन्त्रण गुम्ने जोखिम देखिएको छ।

केही सवारीसाधनमा आगलागीका घटना पनि सार्वजनिक हुँदै आएका छन्। यस्ता घटनाको प्राविधिक कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने हो। तर, कुन कम्पनीका कुन मोडेलका गाडीमा कस्ता समस्या देखिए ? ब्याट्री तथा विद्युतीय प्रणालीको सुरक्षा परीक्षण नियमित हुन्छ कि हुँदैन ? यात्रु बोक्ने सवारीसाधनको प्राविधिक अवस्था कति सुरक्षित छ ?

दुर्घटना भएमा जिम्मेवार को हुन्छ ? यी प्रश्नको जवाफ सार्वजनिक गर्ने र आवश्यक अनुगमन गर्ने काममा सम्बन्धित निकायले सक्रियता देखाउनुपर्ने देखिन्छ।

यातायात व्यवस्था विभाग, प्रदेशस्तरीय यातायात व्यवस्था कार्यालय र सम्बन्धित प्राविधिक निकायले सवारीसाधनको नियमित परीक्षण, फिटनेस प्रमाणपत्र, चालकको दक्षता र सुरक्षा मापदण्डको प्रभावकारी अनुगमन गर्नुपर्ने हो। तर, यात्रुका गुनासालाई सम्बोधन गर्ने गरी परिणाममुखी अनुगमन भएको अनुभूति सर्वसाधारणले गर्न सकेका छैनन्।

ईभी प्रविधि आफैँमा जोखिमपूर्ण हो भन्ने होइन। तर, प्रविधि नयाँ हुँदैमा त्यसको परीक्षण र नियमनबाट राज्य पन्छिन मिल्दैन। पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन होस् वा विद्युतीय सवारीसाधन, यात्रुको सुरक्षा पहिलो सर्त हुनुपर्छ।

सवारीसाधनको गुणस्तर, सडकको अवस्था र चालकको जिम्मेवारीलाई एकीकृत रूपमा हेर्न नसकिए दुर्घटनाको जोखिम बढ्न सक्छ।

ट्राफिक प्रहरीको आँखा अगाडि यात्रु कोचाकोच !
सार्वजनिक यातायातमा देखिएको अर्को गम्भीर समस्या क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति हो। सवारीसाधनको निर्धारित सिट क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुको जीवनसमेत जोखिममा पर्न सक्छ। तर, चाडपर्वको समयमा यात्रुको चापलाई देखाएर व्यवसायीले सवारी क्षमताभन्दा बढी यात्रु चढाउने गरेको गुनासो निरन्तर सुनिँदै आएको छ।

यात्रुहरूको भनाइअनुसार कतिपय सार्वजनिक सवारीसाधनले ट्राफिक प्रहरीको चेकिङ क्षेत्र नजिक पुग्दा अतिरिक्त यात्रु झार्ने र चेकिङ क्षेत्र पार गरेपछि पुनः यात्रु कोचाकोच गर्ने गरेको पाइन्छ। यदि यस्तो भइरहेको छ भने यो केवल यातायात व्यवसायीको बदमासी मात्र होइन, अनुगमन प्रणालीको प्रभावकारितामाथिको गम्भीर प्रश्न पनि हो।

सवारीसाधनमा यात्रु क्षमता, भाडादर, चालकको अवस्था, कागजात तथा सुरक्षा मापदण्ड जाँच गर्नु ट्राफिक प्रहरीको जिम्मेवारीभित्र पर्छ। तर, ट्राफिक कार्यालय आसपासमै यात्रु झारेर केही दूरी पार गरेपछि पुनः चढाउने प्रवृत्ति रोक्न नसकिएको हो भने चेकिङको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

ट्राफिक प्रहरीको भूमिका सवारीसाधनलाई रोकेर कागजपत्र हेर्ने, सिटी बजाउने र जरिवाना काट्ने काममा मात्र सीमित हुनु हुँदैन। सडकमा यात्रुको सुरक्षा, सवारी अनुशासन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिको नियन्त्रण र भाडादरको अनुगमनसमेत प्रभावकारी हुनुपर्छ।

चाडपर्वको समयमा अतिरिक्त ट्राफिक जनशक्ति परिचालन, यात्रु सहायता कक्ष स्थापना, भाडादरको अनुगमन र जोखिमपूर्ण सवारीसाधनमाथि विशेष निगरानी आवश्यक हुन्छ। तर, यात्रुले आफू ठगिएको वा असुरक्षित भएको गुनासो गर्दा सम्बन्धित निकायबाट स्पष्ट जवाफ र तत्काल कारबाही नपाउनु दुःखद विषय हो।

दोब्बर भाडा असुली हुँदा नियमनकारी निकाय किन मौन ?
दशैंदेखि तिहार र छठसम्म सार्वजनिक यातायातमा यात्रुको चाप अत्यधिक हुने गर्छ। यही अवस्थालाई अवसर बनाएर कतिपय यातायात व्यवसायीले निर्धारितभन्दा बढी भाडा असुल्ने गरेको यात्रुको गुनासो छ। सामान्य अवस्थामा लाग्ने भाडाभन्दा चाडपर्वको समयमा दोब्बरसम्म रकम तिर्नुपरेको यात्रुहरूको अनुभव छ।

यात्रुहरू आफ्नो घरपरिवारसँग चाडपर्व मनाउन बाध्यतावश यात्रा गरिरहेका हुन्छन्। टिकट नपाउने डर, सवारीसाधनको अभाव र समयमै गन्तव्य पुग्नुपर्ने बाध्यताले उनीहरू बढी रकम तिर्न बाध्य हुन्छन्। यही बाध्यतालाई आर्थिक लाभको माध्यम बनाउनु व्यवसायिक मर्यादाविपरीत हो।

सरकारले सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको छ भने त्यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी पनि राज्यकै हो। यात्रुले निर्धारितभन्दा बढी भाडा तिर्नुपरेमा उजुरी गर्ने व्यवस्था प्रभावकारी हुनुपर्छ। तर, चाडपर्व सकिएपछि मात्र अनुगमन र कारबाहीको कुरा उठाउने प्रवृत्तिले समस्या समाधान हुँदैन।

यातायात व्यवस्था विभाग र सम्बन्धित कार्यालयले टिकट काउन्टरदेखि सडकमा सञ्चालन हुने सवारीसाधनसम्म निगरानी गर्नुपर्ने हो।

बढी भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्ने, यात्रुको रकम फिर्ता गराउने र दोहोर्यारएर गल्ती गर्ने व्यवसायीको अनुमतिपत्र तथा सञ्चालन अवस्थासमेत नियमानुसार परीक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ।

इनड्राइभको भाडा प्रणाली : ७९० रुपैयाँबाट २५सयसम्म कसरी पुग्यो ?
सार्वजनिक यातायातमा मात्र होइन, पछिल्लो समय उपत्यकामा लोकप्रिय बनेका राइड सेयरिङ सेवाहरूमा समेत यात्रु ठगिएको गुनासो बढ्दै गएको छ।

विशेषगरी इनड्राइभ (inDrive) र पठाओजस्ता डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने सेवामा भाडादर, चालकको व्यवहार, सेवा शुल्क र गुनासो व्यवस्थापनबारे प्रश्न उठ्न थालेका छन्।

छिटो, भरपर्दो र सहज यात्रा उपलब्ध गराउने दाबी गर्दै प्रचारप्रसार गर्ने राइड सेयरिङ कम्पनीका सेवामा यात्रुले भोग्नुपरेका कतिपय अनुभव भने त्यसको प्रचारसँग मेल नखाने देखिन्छन्।

यसको एउटा उदाहरण काठमाडौंको थानकोटस्थित दहचोकदेखि भक्तपुरको चित्रपुरसम्मको यात्रालाई लिन सकिन्छ। एक यात्रुले दिएको विवरणअनुसार इनड्राइभमार्फत उक्त स्थानमा पुग्न सुरुमा ७९० रुपैयाँमा यात्रा गराउने प्रस्ताव गरिएको थियो।

सोही प्रस्तावका आधारमा यात्रा तय भए पनि गन्तव्यमा पुगेपछि चालकले २५सय रुपैयाँभन्दा बढी रकम मागेको यात्रुको गुनासो छ।

सुरुमा देखाइएको भाडा र अन्तिममा मागिएको रकमबीच ठूलो अन्तर देखिएपछि यात्रुले किन यति धेरै रकम असुलिएको हो भनेर प्रश्न गरेका थिए। तर, चालकबाट प्राप्त जवाफ झन् गैरजिम्मेवार प्रकृतिको रहेको यात्रुको भनाइ छ।

चालकले बुकिङ गर्ने व्यक्तिलाई नै सोध्नुपर्ने र आफू कम्पनीको नियमअनुसार चल्ने गरेको जवाफ दिएको बताइएको छ। त्यसपछि यात्रुले सम्बन्धित विषयमा स्पष्ट जानकारी लिन खोज्दा कम्पनीको आधिकारिक सम्पर्क नम्बरसमेत चालकले उपलब्ध गराउन नसकेको गुनासो छ

। कम्पनीको नम्बर गुगलमा खोज्नुस्, हामीलाई पनि थाहा छैन, कम्पनीको आदेशअनुसार काम गर्ने हो भन्ने जवाफ पाएको यात्रुको भनाइ छ।

यदि सुरुमा देखाइएको भाडा र अन्तिममा असुल गरिएको रकमबीच यति ठूलो अन्तर परेको हो भने त्यसको कारण स्पष्ट हुनुपर्छ।

यात्रुले बुकिङ गर्दा देखाइएको रकम अन्तिम भाडा हो कि अनुमानित रकम ? दूरी, समय, ट्राफिक जाम, प्रतीक्षा शुल्क वा अन्य कुनै शीर्षकमा थप रकम लाग्ने हो भने त्यसको जानकारी यात्रुलाई अग्रिम दिनुपर्दैन ? कम्पनीले चालकलाई कुन आधारमा रकम असुल्न अनुमति दिएको छ ? यी प्रश्नको जवाफ आवश्यक छ।

ट्राफिक प्रहरीको जवाफ : कम्पनीलाई सोध्नुस् !
उक्त घटनाबारे यात्रुले ट्राफिक प्रहरीलाई समेत जानकारी गराएको बताएका छन्। तर, कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउँदा आफूहरूले कम्पनीको भाडासम्बन्धी विषय नजान्ने र कम्पनीलाई नै सोध्नुपर्ने जवाफ पाएको यात्रुको गुनासो छ।

यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ—सडकमा सञ्चालन हुने सवारीसाधन, यात्रुको सुरक्षा, सवारी नियम र सार्वजनिक यातायातको अनुशासन हेर्ने जिम्मेवारी बोकेको निकायले यात्रुको गुनासो सुनेपछि कम्तीमा सम्बन्धित नियमनकारी निकायसम्म पुर्या उने व्यवस्था गर्न सक्दैन ?

राइड सेयरिङ कम्पनीको आन्तरिक भाडा प्रणालीबारे ट्राफिक प्रहरीले प्रत्यक्ष निर्णय नगर्न सक्छ। तर, यात्रु र चालकबीच विवाद हुँदा, तोकिएको नियम उल्लङ्घन भएको आशंका हुँदा वा यात्रुलाई अनुचित दबाब दिएर रकम असुलिएको गुनासो आउँदा सम्बन्धित निकायसँग समन्वय गर्नु आवश्यक हुन्छ।

कम्पनीको नाममा सञ्चालन हुने सेवा हो भने कम्पनीको स्पष्ट कार्यालय, आधिकारिक सम्पर्क नम्बर, गुनासो सुनुवाइ प्रणाली र जिम्मेवार प्रतिनिधि हुनुपर्छ। चालकले कम्पनीको नाममा सेवा दिने तर कम्पनीको सम्पर्क नम्बरसमेत उपलब्ध गराउन नसक्ने अवस्था छ भने त्यसको जवाफदेहिता कसले लिने ?

इनड्राइभ र पठाओ : विज्ञापन आकर्षक, सेवा र जवाफदेहिता कमजोर ?
इनड्राइभ र पठाओजस्ता डिजिटल प्लेटफर्मले उपत्यकामा यातायात सेवाको नयाँ विकल्प उपलब्ध गराएका छन्।

मोबाइल एपबाट सवारी खोज्ने, गन्तव्य निर्धारण गर्ने र चालकसँग भाडा प्रस्ताव गर्ने प्रणालीले यात्रुलाई सुविधा पनि दिएको छ। तर, यही प्रणालीमा पारदर्शिता र जवाफदेहिताको अभाव भयो भने यात्रु समस्यामा पर्न सक्छन्।

इनड्राइभले विभिन्न विज्ञापन, होर्डिङ बोर्ड, सवारीसाधन तथा अन्य प्रचारमाध्यममार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ। तर, आकर्षक विज्ञापनले मात्र सेवा विश्वसनीय हुँदैन। यात्रुले तिरेको रकमको स्पष्ट हिसाब, बुकिङ गर्दा देखाइएको भाडाको विश्वसनीयता, चालकको आचरण र गुनासो सुनुवाइ प्रणाली उत्तिकै महत्वपूर्ण हुन्छन्।

यात्रुहरूले कतिपय अवस्थामा एपमा देखाइएको रकमभन्दा बढी रकम मागिएको, गन्तव्यमा पुगेपछि थप रकम तिर्न दबाब दिइएको तथा चालकले कम्पनीको नियम देखाएर आफू जिम्मेवारीबाट पन्छिने गरेको गुनासो गरेका छन्।

पठाओ सेवामा पनि कतिपय यात्रुले भाडा र सेवा व्यवहारसम्बन्धी असन्तुष्टि व्यक्त गरेका छन्। चालकले यात्रुबाट कति रकम लिन पाउने, एपमा देखिएको भाडामा कुन-कुन शुल्क समावेश हुन्छन्, बुकिङ रद्द भएमा वा गन्तव्य परिवर्तन भएमा कस्तो शुल्क लाग्छ भन्ने विषय स्पष्ट हुनुपर्छ।

यात्रुले एपमा देखिएको रकमलाई आधार मानेर यात्रा तय गर्छन्। त्यसपछि कुनै स्पष्ट कारणबिना थप रकम माग्नु उचित हुँदैन। यदि कुनै परिस्थितिमा भाडा परिवर्तन हुन्छ भने त्यसको जानकारी यात्रुलाई अग्रिम दिनु कम्पनीको जिम्मेवारी हो।

डिजिटल प्रविधिको नाममा यात्रुलाई अन्योलमा पार्ने, चालकलाई दोष दिने र कम्पनीले जिम्मेवारी नलिने अवस्था सिर्जना हुनु हुँदैन। कम्पनीले आफ्नो प्लेटफर्ममार्फत सेवा दिने चालकको आचरण र सेवाको गुणस्तरप्रति जवाफदेही हुनुपर्छ।

रातको समयमा यात्रु अझ बढी जोखिममा !
दिनको समयमा त यात्रुले आफू ठगिएको वा दुर्व्यवहार भएको विषयमा अरूको सहयोग लिन सक्छन्। तर, रातको समयमा एक्लै यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, बिरामी तथा अपरिचित स्थानमा पुग्नुपर्ने यात्रु थप जोखिममा पर्न सक्छन्।

रातको समयमा सवारीसाधनको उपलब्धता कम हुने भएकाले यात्रु चालकले मागेको रकम तिर्न बाध्य हुन सक्छन्। गन्तव्यमा पुग्नुपर्ने बाध्यता र वैकल्पिक सवारी नपाउने अवस्थाको फाइदा उठाएर अनुचित रकम माग्ने प्रवृत्ति छ भने त्यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ।

राइड सेयरिङ कम्पनीले रातको समयमा समेत प्रभावकारी गुनासो सुनुवाइ, चालकको पहिचान, यात्राको विवरण सुरक्षित राख्ने प्रणाली र आपत्कालीन सहयोगको व्यवस्था सुनिश्चित गर्नुपर्छ। यात्रुले आफ्नो सुरक्षाका लागि कम्पनीसँग सम्पर्क गर्न खोज्दा फोन नउठ्ने वा जिम्मेवार अधिकारी उपलब्ध नहुने अवस्था आउनु हुँदैन।

राज्यका निकायको जिम्मेवारी कहाँ ?
यातायात क्षेत्रमा देखिएका यी समस्या कुनै एउटा कम्पनी वा व्यवसायीमा मात्र सीमित छैनन्। सार्वजनिक यातायात, विद्युतीय सवारीसाधन, राइड सेयरिङ सेवा र यात्रुको सुरक्षासँग सम्बन्धित सबै विषयमा राज्यको स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक छ।

यातायात व्यवस्था विभागले सवारीसाधनको प्राविधिक अवस्था, फिटनेस परीक्षण, भाडादर र सञ्चालनसम्बन्धी मापदण्डको प्रभावकारी अनुगमन गर्नुपर्छ। यातायात व्यवस्था कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका सवारीसाधन र सेवाको नियमन गर्नुपर्छ। ट्राफिक प्रहरीले सडकमा नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निष्पक्ष कारबाही गर्नुपर्छ।

त्यस्तै, राइड सेयरिङ कम्पनीहरूको सञ्चालन, भाडा निर्धारण प्रणाली, यात्रु गुनासो व्यवस्थापन र उपभोक्ता अधिकारको संरक्षणका लागि सम्बन्धित सरकारी निकायले आवश्यक नियमन गर्नुपर्छ। कम्पनीले आफूलाई प्रविधिमा आधारित सेवा प्रदायक भनेर मात्र राज्यको जवाफदेहिताबाट बाहिर राख्न मिल्दैन।

यात्रुले भाडा तिर्छन्, कम्पनीले सेवा शुल्क र आम्दानी प्राप्त गर्छ, चालकले आफ्नो श्रमको मूल्य पाउँछन्। तर, सेवा सञ्चालनमा विवाद उत्पन्न हुँदा यात्रु मात्रै जिम्मेवारविहीन अवस्थाको सिकार बन्नु न्यायोचित हुँदैन।

अनुगमन, अनुसन्धान र कारबाही अब कागजमा होइन, सडकमा देखिनुपर्छ
सरकारले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न केही आधारभूत कदम तत्काल चाल्न आवश्यक छ। पहिलो, सार्वजनिक यातायातमा निर्धारितभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि नियमित अनुगमन र कारबाही हुनुपर्छ। दोस्रो, चाडपर्व तथा सामान्य समयमा समेत तोकिएको भाडादरभन्दा बढी रकम असुल्ने व्यवसायीलाई कारबाही गर्नुपर्छ।

तेस्रो, ईभी सवारीसाधनको ब्याट्री, विद्युतीय प्रणाली, ब्रेक, ढोका लक प्रणाली र समग्र प्राविधिक सुरक्षाको नियमित परीक्षण हुनुपर्छ। चौथो, इनड्राइभ र पठाओजस्ता प्लेटफर्ममा बुकिङ गर्दा देखाइएको भाडा र अन्तिममा असुल गरिएको रकमबीचको अन्तरबारे स्पष्ट मापदण्ड लागू गर्नुपर्छ।

पाँचौँ, यात्रुले उजुरी गर्न सक्ने सहज र प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्छ। उजुरीपछि सम्बन्धित निकायले के कारबाही गर्योर भन्ने जानकारीसमेत यात्रुलाई उपलब्ध गराउनुपर्छ।

सवारीसाधन दुर्घटना भएपछि उद्धार र क्षतिपूर्तिको कुरा उठाउनु मात्रै राज्यको जिम्मेवारी होइन। दुर्घटना हुन नदिनु, यात्रुलाई ठगीबाट जोगाउनु र सुरक्षित यात्रा सुनिश्चित गर्नु नै राज्यको वास्तविक दायित्व हो।

यात्रु ग्राहक हुन्, कसैका बन्धक होइनन् !
सार्वजनिक यातायात होस् वा निजी राइड सेयरिङ सेवा, यात्रु कुनै पनि व्यवसायीको बाध्यताको व्यापार गर्ने साधन होइनन्।

उनीहरूले तिरेको रकमअनुसार सुरक्षित, भरपर्दो र पारदर्शी सेवा पाउनुपर्छ। प्रविधिको नाममा मनपरी भाडा असुल्ने, चाडपर्वको नाममा यात्रुको ढाड सेक्ने र सवारी क्षमताभन्दा बढी यात्रु कोचेर जोखिममा पार्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

इनड्राइभ र पठाओले आफ्नो सेवाको विश्वसनीयता कायम राख्ने हो भने भाडा प्रणाली पारदर्शी बनाउनुपर्छ। चालकलाई कम्पनीको जिम्मेवारी र नियमबारे स्पष्ट जानकारी दिनुपर्छ।

यात्रुको गुनासो सुन्ने र समाधान गर्ने आधिकारिक संयन्त्र प्रभावकारी बनाउनुपर्छ। त्यस्तै, सरकारी निकायले पनि कम्पनी र व्यवसायीको प्रभावमा नपरी उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।

थानकोटको दहचोकदेखि भक्तपुरको चित्रपुरसम्मको यात्रामा ७९० रुपैयाँको प्रस्तावपछि ३५ सय रुपैयाँभन्दा बढी असुलिएको भनिएको घटना एउटा यात्रुको गुनासो मात्रै हो कि यस्तै समस्या अरू यात्रुले पनि भोगिरहेका छन् ? यसको निष्पक्ष छानबिन हुनुपर्छ। सम्बन्धित कम्पनीले उक्त गुनासोबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। ट्राफिक प्रहरी र यातायात नियमन गर्ने निकायले पनि आफ्नो क्षेत्राधिकारभित्रको जिम्मेवारी स्पष्ट पार्नुपर्छ।

अन्ततः प्रश्न ईभी चढ्ने कि पेट्रोल गाडी चढ्ने भन्ने मात्र होइन। प्रश्न यात्रु सुरक्षित छन् कि छैनन्, तिरेको भाडाअनुसार सेवा पाएका छन् कि छैनन् र ठगी वा लापरबाही हुँदा न्याय पाउने व्यवस्था छ कि छैन भन्ने हो।

सरकारले यातायात क्षेत्रमा देखिएको बेथिति नियन्त्रण गर्न नसक्ने हो भने सडकमा नियमको शासन होइन, व्यवसायीको मनोमानी चल्नेछ। ट्राफिक प्रहरी सिटी बजाएर मात्रै जिम्मेवारी पूरा भएको ठान्ने, यातायात कार्यालय फाइल पल्टाएर बस्ने र कम्पनीहरू विज्ञापनको चमकमा रमाउने अवस्था अन्त्य हुनुपर्छ।

यात्रुको पसिनाबाट कमाइ गर्नेले यात्रुको सुरक्षाको जिम्मेवारी पनि लिनुपर्छ। राज्यले नियमन गर्न नसक्ने हो भने सर्वसाधारणले सुरक्षित यात्राको प्रत्याभूति कहाँबाट पाउने ?
यात्रु ठगिने, जोखिममा पर्ने र गुनासो गर्दा जिम्मेवारी एक निकायबाट अर्को निकायमा पन्छाइने यो प्रवृत्तिको अन्त्यका लागि अब सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र सम्बन्धित कम्पनीले जवाफ दिनैपर्छ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan