Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकको कडा कदम : कृषि विकास बैंक,राष्ट्रिय वाणिज्य बैंकलाई कारबाहीमा,प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १९ मंगलबार |
newsabhiyan

काठमाडौं, १९ साउन । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकिङ क्षेत्रको नियमन थप कडा बनाउँदै निर्देशन उल्लंघन गर्ने तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ।

राष्ट्र बैंकले प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई नियमविपरीत काम गरेको ठहर गर्दै सुधारात्मक कदम, सचेतना तथा नगद जरिवानासहितका कारबाही अघि बढाएको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ अनुसार प्रभु बैंकमा देखिएका गम्भीर प्रकृतिका कमजोरी समयमै सुधार नभएपछि बैंकको सञ्चालक समितिलाई सुधारात्मक योजना तयार गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको थियो।

तर, त्यसपछि गरिएको जोखिममा आधारित स्थलगत निरीक्षणमा पनि अपेक्षित सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम प्रभु बैंकको सञ्चालक समितिसँग कबुलियतनामा गराइएको छ।

पूर्वसीईओ अशोक शेरचनलाई ५ लाख रुपैयाँ जरिवाना
राष्ट्र बैंकले प्रभु बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पाँच लाख रुपैयाँ नगद जरिवाना गरेको छ।

निरीक्षणका क्रममा बैंकले कर्जा व्यवस्थापनसम्बन्धी राष्ट्र बैंकका अधिकांश निर्देशन पालना नगरेको, पटक–पटक निर्देशन उल्लंघन गरेको तथा अघिल्लो निरीक्षण प्रतिवेदनमा औंल्याइएका कमजोरी सुधार नगरेको भेटिएको जनाइएको छ।

त्यसैगरी, बैंकले कर्जाको उचित वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण तथा बैंकको कोर बैंकिङ प्रणालीमा रहेको विवरणबीच फरक देखिएको भन्दै तत्कालीन सीईओ शेरचनलाई ऐनअनुसार पाँच लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकलाई चेतावनी

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई पनि निर्देशन उल्लंघन गरेको भन्दै औपचारिक रूपमा सचेत गराएको छ। विशेषगरी कानूनबमोजिम रोक्का गर्नुपर्ने बैंक खाताहरू समयमै रोक्का नगरेको विषयमा बैंकलाई भविष्यमा यस्ता त्रुटि नदोहोर्याउन कडा निर्देशन दिइएको छ।

कृषि विकास बैंक पनि कारबाहीमा
विशेष स्थलगत निरीक्षणका क्रममा कृषि विकास बैंकले पनि नेपाल राष्ट्र बैंक तथा कानून कार्यान्वयन निकायबाट आएको अनुरोधअनुसार समयमै बैंक खाता रोक्का नगरेको पाइएको थियो। यसलाई निर्देशनको उल्लंघन ठहर गर्दै राष्ट्र बैंकले कृषि विकास बैंकलाई पनि सचेत गराएको जनाएको छ।

नियामकको सन्देश : निर्देशन उल्लंघनमा अब कुनै छुट छैन
राष्ट्र बैंकको पछिल्लो कारबाहीले बैंक तथा वित्तीय संस्थाले नियामकीय निर्देशनको पूर्ण पालना गर्नुपर्ने सन्देश दिएको छ।

निरीक्षणमा देखिएका कमजोरी समयमै सुधार नगर्ने, वित्तीय विवरणमा त्रुटि गर्ने वा नियामकका निर्देशन बेवास्ता गर्ने बैंक तथा जिम्मेवार पदाधिकारीमाथि आगामी दिनमा अझ कडा कारबाही हुने संकेत राष्ट्र बैंकले दिएको छ।

बैंकिङ प्रणालीको पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले निरीक्षण तथा नियमनलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरेको देखिएको छ।

यो पनि पढ्नुहोस् :
आर्थिक शिथिलताको चपेटामा बैंकहरू: थुप्रियो अधिक तरलता, लगानी शून्य र बढ्दो जोखिम

पटक–पटक राष्ट्र बैंकको निर्देशन उल्लंघन : प्रभु बैंकमाथि कडा कारबाही, तत्कालीन सीईओ अशोक शेरचनलाई ५ लाख जरिवाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan