जय नेपाल पार्टीले गठन गर्यो पाँच सदस्यीय वार्ता समिति
काठमाडौं, ८ भदौ । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल, संगठन, समूह, अभियान तथा व्यक्तिहरूसँग एकता र सहकार्यका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम रहेका छन् ।
विचार र राजनीतिक उद्देश्य मिल्ने विभिन्न पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई जय नेपाल पार्टीमा गोलबन्द गर्ने उद्देश्यले वार्ता समिति गठन गर्ने निर्णय गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नवगठित समितिले तत्कालै विभिन्न पक्षसँग वार्ता तथा संवाद प्रक्रिया अघि बढाउनेछ ।
पार्टीले समान विचारधारा भएका राजनीतिक शक्ति र अभियानलाई एकीकृत गर्दै संगठन विस्तार तथा राजनीतिक प्रभाव बलियो बनाउने रणनीतिअनुसार वार्ता प्रक्रिया अघि बढाउन लागेको जनाएको छ ।
समितिले सम्भावित एकता, सहकार्य र गोलबन्दीका लागि सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रस्ताव तयार गर्ने बताइएको छ ।
