एमाले जनसङ्गठनको नगरकोट घोषणापत्र जारी
भक्तपुर, ७ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ तीन बुँदे नगरकोट घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजित कार्यशालामा सहभागी १६० जनाको छलफलपछि घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा जनजीविका, शान्तिसुरक्षा, राष्ट्रिय स्वाधीनता तथा सरकारका कामकारबाहीका विषय उल्लेख छ ।
कार्यशालाले खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल नपाएकामा दुःख व्यक्त गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरिएको छ ।
कार्यशालाले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई मुख्य केन्द्रमा राख्दै बागमती प्रदेशका २३ वटै जनसङ्गठन समन्वय संयन्त्रलाई पूर्ण रूपमा सक्रिय र परिचालन गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका १३ वटै जिल्लादेखि पालिका तहसम्म आवासीय कार्यशाला तथा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने निर्णयसमेत गरिएको छ ।
कार्यशालामा नेताहरु ईश्वरी रिजाल, रामशरण प्याकुरेल, वाइपी आचार्य, विशाल भट्टराई र प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश अध्यक्ष कैलाश ढङ्गेल तथा केन्द्रीय सदस्यद्वय माधव ढुङ्गेल र भोला पोखरेलको सहभागिता थियो ।
समापन कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रदेश कमिटी उपसचिव एवं संयन्त्र प्रमुख रमेश आचार्यको अध्यक्षतामा कार्यशाला सम्पन्न भएको हो ।
