Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | रासस


बाजुरा, ८ भदौः बाजुराको गौमुल गाउँपालिकाको केन्द्र घटमुनालाई जोड्ने बुढीगङ्गा नदीमा निर्माण हुने भनिएको पक्की पुलको सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरु हुनसकेको छैन ।
 
पुल निर्माणका लागि २०७९ वैशाखमा सम्झौता भए पनि अहिलेसम्म आयोजनास्थलमा कुनै काम सुरु नभएको स्थानीयवासीको गुनासो छ । बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको सीमामा पर्ने घटमुनामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय धनगढीले ठेक्का प्रक्रिया अघि बढाएको थियो । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र एआर चन्द्र ग्रुप जेभीबीच रु चार करोड एक लाख २२ हजार ४८४ मा निर्माण सम्झौता भएको थियो । 

सम्झौताअनुसार निर्माण कम्पनीले काम सुरु गर्ने प्रतिबद्धतासहित रु ३५ लाख पेस्कीसमेत लिएको थियो । लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले निर्माणकार्य सुरु गराउन चासो नदेखाएको गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाले बताउनुभयो । पुल नहुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या हुनुका साथै वर्षायाममा यातायातसमेत अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो ।

गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटकपटक आग्रह गर्दा पनि काम सुरु नभएको बताउनुभयो ।

सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्मको दूरी करिब १२ किलोमिटर छ । गाउँपालिकाको केन्द्र पुग्न दुईवटा नदी पार गर्नुपर्ने अवस्था छ । मार्तडी नजिकैको बाहुली खोलामा पनि सडक डिभिजन कार्यालय, साँफेबगरले यसअघि ठेक्का आह्वान गरे पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

घटमुनामा पुल निर्माण सम्पन्न भए गौमुल गाउँपालिकाका बासिन्दालाई मात्र नभई बाजुराबाट बझाङ जिल्लासम्म पुग्ने छोटो सडकमार्ग सञ्चालनमा समेत सहज हुने स्थानीय गणेश रोकायाले बताउनुभयो ।

हाल मार्तडीदेखि गौमुलसम्मको करिब १२ किलोमिटर सडकखण्डमध्ये करिब छ किलोमिटर कालोपत्र गर्ने काम सुरु भइसकेको छ । कालोपत्रको काम प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत भइरहेको छ ।

स्थानीय धनबहादुर रोकायाका अनुसार १२ किलोमिटर सडक कालोपत्र गरी दुवै नदीमा पक्की पुल निर्माण भएको भए वर्ष दिनभित्रै गौमुल गाउँपालिका सदरमुकाम मार्तडीसँग सडक सञ्जालमा जोडिने थियो । पुल निर्माण सुरु नहुँदा स्थानीयवासीले अझै सास्ती खेप्नुपरेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पुल निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सुरु नभएपछि अहिले ठेक्का तोड्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

बाजुरामा थुप्रै सडक, पुललगायत ठूला विकास आयोजनाको सम्झौता लामो समय बित्दासमेत निर्माण सुरु नहुने र केही आयोजना बीचमै अलपत्र पर्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan