पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष
पाल्पा, ७ भदौः तानसेन नगरपालिका-४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड (उत्पादनको पहिचान) बनाउने लक्ष्यका साथ अगाडि बढ्नुभएको छ । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढाकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने गरी उहाँले योजनासहित काम गरिरहनुभएको हो ।
पाल्पाली ढाका भन्नासाथ मौलिक पहिचान, परम्परागत बुनाइ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप हो । यही पहिचानलाई समयानुकूल बनाउँदै नयाँ पुस्ताको रोजाइमा पर्ने र विश्वबजारसम्म पुर्याउने अभियानमा लागेको रायमाझीले बताउनुभयो । बुवा हरि रायमाझीले पाल्पामा स्थापित गर्नुभएको सरस्वती ढाका कपडा उद्योग उहाँले सम्हाल्दै आउनुभएको छ ।
उक्त उद्योगलाई थप परिपार्जन गर्दै जिल्लामै सीमित पाल्पाली ढाका उद्योगलाई ब्राण्डिङ गर्दै विश्व बजारसम्म पुर्याउन आफू लागिपरेको अनुशेषले बताउनुभयो । परम्परागत ढाकाको मौलिकता जोगाउँदै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन र नयाँबजार खोज्ने यात्रामा आफू अगाडि बढेको उहाँको भनाइ छ ।
विसं २०७८ मा तत्कालीन उद्योग मन्त्रालयबाट ‘पाल्पाली’ ब्रान्ड पाए पनि जिल्लामै सीमित बन्न पुगेको अवस्थामा रायमाझीले राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्दै अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन योजनाबद्ध र निरन्तर काम गरिरहेको बताउनुभयो ।
पाल्पाली ढाकालाई विश्वबजारमा स्थापित गर्न सकियो भने त्यसले पाल्पाको अर्थतन्त्र, स्थानीय रोजगारी, पर्यटन र नेपाली हस्तकलाको अन्तरराष्ट्रिय पहिचानमा योगदान पुर्याउनसक्ने भएकाले विश्व ब्रान्ड बनाउने अभियानमा लागेको उहाँले बताउनुभयो ।
रायमाझीले भन्नुभयो, “ढाकालाई विश्व ब्रान्डिङ गर्न सकियो भने पाल्पा घुम्न आउने पर्यटकले ढाकालाई सम्झनाका रूपमा मात्र नभई नेपालको मौलिक जीवनशैली र संस्कृतिको प्रतिनिधिका रूपमा घर लैजानसक्ने अवस्था सिर्जना हुन सक्छ । विदेशमा बस्ने नेपालीका लागि यो आफ्नो माटोसँग जोडिने माध्यम बन्न सक्छ । अझ अन्तरराष्ट्रिय ग्राहकका लागि भने यो नेपालबाट आएको एउटा विशिष्ट, हस्तनिर्मित उत्पादनका रूपमा स्थापित हुन सक्छ ।”
उहाँको योजना परम्परागत ढाकाको पहिचानलाई जोगाएर त्यसमा आधुनिक डिजाइन र बजारको मागअनुसार नयाँपन थप्ने हो । डिजिटल रूपमा बजारीकरण, प्रविधि र अन्तरराष्ट्रिय बजारको सम्भावनालाई उपयोग गर्दै पाल्पाली ढाकालाई नेपालभित्र मात्र नभई विदेशमा समेत चिनाउन आफू लागेको उहाँले उल्लेख गर्नुभयो ।
अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट
रायमाझी अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट हुनुभएको छ । उहाँ अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘युएस एम्बेसी इन्टरप्रेनरसीप स्किल डेभलपमेन्ट प्रोग्राम-क्यापस्टोन एक्सेलेरेटर’का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा पर्नुभएको हो ।
कार्यक्रमका लागि देशभरबाट ८०० भन्दाबढी आवेदन परेको थियो । सात प्रदेशका विभिन्न सहरमा सञ्चालन गरिएको क्षेत्रीय कार्यक्रमबाट २०० भन्दाबढी उद्यमी छनोट गरी प्रशिक्षण दिइएको थियो । व्यावसायिक सम्भावना, नवप्रवर्तन, बजार विस्तार, उद्यमीको प्रतिबद्धता र भविष्यको योजनाका आधारमा गरिएको प्रतिस्पर्धात्मक छनोटबाट २० जना उद्यमी काठमाडौँमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटर (द्रुत विकास कार्यक्रम) का लागि छनोट हुनुभएको हो ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी रायमाझीले पाल्पाली ढाकाको मौलिक पहिचान संरक्षण गर्दै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन, रोजगारी सिर्जना र राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तारको योजना प्रस्तुत गर्नुभएको थियो ।
क्यापस्टोन एक्सेलेरेटरमा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, एआईको प्रयोग, डिजिटल मार्केटिङ (अनलाइन बजारीकरण) तथा अन्तरराष्ट्रिय बजारमा पहुँचलगायत विषयमा प्रशिक्षण र बजारीकरणका उपायका बारेमा जानकारी पाएको रायमाझीले जानकारी दिनुभयो । अन्तिम चरणमा उहाँले लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञसमक्ष सरस्वती ढाकाको व्यवसायिक यात्रा र भविष्यको विस्तार योजनाबारे प्रस्तुति दिनुभएको थियो ।
क्यापस्टोन एक्सेलेरेटर अमेरिका-नेपाल व्यावसायिक कूटनीति शृङ्खलाअन्तर्गत सञ्चालित कार्यक्रम हो । कार्यक्रमले नेपाली उद्यमीलाई व्यावसायिक योजना, डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), लगानी तयारी, बजार विस्तार र निर्यातसम्बन्धी व्यावहारिक ज्ञान तथा बजारीकरणको अवसर प्रदान गर्दै आएको छ ।
उत्कृष्ट २० उद्यमीमध्ये रायमाझीको छनोटलाई पाल्पाको परम्परागत ढाका उद्योगका लागि मात्र नभई स्थानीय सीप, महिला उद्यमशीलता र मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
सीपबाट रोजगारीसम्म
रायमाझीका अनुसार सरस्वती ढाका कपडा उद्योगमा अहिले ४५ जना महिलाले प्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् । उहाँले परम्परागत बुनाइ सीपलाई निरन्तरता दिँदै स्थानीय महिलाका लागि आयआर्जनको अवसरसमेत सिर्जना गर्नुभएको छ ।
उहाँको उद्योगमा परम्परागत ढाका कपडासँगै टोपी, शल, साडी तथा विभिन्न जीवनोपयोगी सामग्री उत्पादन हुँदै आएका छन् । उद्योगमार्फत ढाकालाई केबल परम्परागत पोशाकको सीमाबाट बाहिर निकालेर आधुनिक जीवनशैलीसँग जोड्ने प्रयासलाई पनि अघि बढाउँदै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
