भजनमार्फत संस्कार र संस्कृति पुस्तान्तरणको अभियान
दमौली (तनहुँ), ७ भदौः आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशसँगै पुराना संस्कार, संस्कृति तथा परम्परा ओझेलमा पर्न थालेपछि तनहुँमा भजनमार्फत संस्कृति संरक्षण तथा पुस्तान्तरणको अभियान सुरु गरिएको छ । व्यास नगरपालिका-५ निवासी तेजप्रसाद लामिछानेसहितको समूहले युवालाई भजन तथा मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत प्रत्येक शनिबार साँझ ५ः०० बजेदेखि ६ः०० बजेसम्म जिल्लाका विभिन्न स्थानमा भजनकीर्तन गर्ने योजना बनाइएको छ । भजन सिक्न र सिकाउन इच्छुक व्यक्ति स्वतःस्फूर्त रूपमा सहभागी हुनसक्नेगरी अभियान सञ्चालन गरिने लामिछानेले बताउनुभयो ।
पहिलोपटक गत साउन २३ गते शनिबार व्यास नगरपालिका-३ स्थित अनसनचौतारीमा कार्यक्रम गरिएको थियो भने भदौ ६ गते दुर्गा मन्दिरमा भजनकीर्तन गरिएको छ । यसअघि साउन ३० गते दुर्गा मन्दिरमा भजनकीर्तनको तयारी गरिए पनि पानी परेपछि स्थगित भएको थियो ।
लामिछानेसहित शिव न्यौपाने, रामबाबु रेग्मी, हरिप्रसाद तिवारी र कपिल काफ्ले अभियानमा सक्रिय रूपमा सहभागी हुनुहुन्छ । अभियानका अगुवा लामिछानेले लामो समयदेखि आफू र आफ्ना सहकर्मी संस्कार, संस्कृति र परम्पराको संरक्षणमा लाग्दै आएको बताउनुभयो । अहिलेको अभियानलाई भने युवालाई केन्द्रमा राखेर पालिका हुँदै जिल्लाभर विस्तार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।
“लामो समयदेखि हाम्रो संस्कार, संस्कृति र परम्परालाई जोगाउन सहकर्मीसहित निरन्तर लागिरहेका छौँ । अब पालिका र जिल्लाभर भजन गाउने र यसको पुस्तान्तरण गर्ने उद्देश्यले युवा जागरण अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भजन केबल धार्मिक गतिविधि मात्र नभई संस्कार, संस्कृति र सामाजिक एकताको माध्यम पनि हो ।
पुरानो पुस्ताले जानेका भजन तथा धार्मिक संस्कृतिका विषयवस्तु नयाँ पुस्तासम्म पुर्याउनसके मौलिक परम्परा संरक्षणमा योगदान पुग्ने लामिछानेले बताउनुभयो । “हाम्रो पुस्ताले जानेका धेरै भजन र संस्कृतिका कुरा नयाँ पुस्तासम्म पुग्न सकेका छैनन् । त्यसैले युवालाई भजन सिक्ने र सिकाउने वातावरण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अभियानमा कुनै निश्चित संस्था वा व्यक्तिलाई आयोजकका रूपमा अघि नसारिने जनाइएको छ । भजनप्रति रुचि भएका व्यक्ति स्वतःस्फूर्त रूपमा एक ठाउँमा भेला भएर भजन गाउने र सिक्ने अवधारणाका साथ कार्यक्रम सञ्चालन गरिने लामिछानेले बताउनुभयो ।
“यस अभियानमा कोही आयोजक रहने छैनन् । स्वतःस्फूर्त रूपमा भजनप्रेमीहरू जुट्ने र भजन गाउने गरी अभियान थनलेका छौँ । यसमा कुनै रकम उठाउने पनि होइन र कसैलाई खर्च दिने पनि होइन”, उहाँले भन्नुभयो । हरेक शनिबार साँझ एक घण्टा भजनका लागि छुट्याउने अभ्यासले विस्तारै युवालाई संस्कार र संस्कृतिसँग जोड्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अभियानलाई सफल बनाउन विद्वान, समाजसेवी, जनप्रतिनिधि, वडाध्यक्ष तथा सदस्य, धार्मिक अभियन्ता, शिक्षक, कर्मचारीलगायत सबै सरोकार भएका निकायलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको भजनमा सहभागी रामबाबु रेग्मीले बताउनुभयो ।
अभियानले केबल भजनकीर्तनमा सीमित नरही स्थानीय युवालाई सामाजिक तथा धार्मिक गतिविधिमा जोड्ने लक्ष्यसमेत राखेको छ । आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा भजन, संस्कार तथा संस्कृति संरक्षणसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै जाने योजना रहेको शिव न्यौपानेले बताउनुभयो ।
भजनमार्फत समाजमा नैतिकता, अनुशासन, आपसी सहयोग, सद्भाव र आध्यात्मिक चेतना विकास गर्न सकिने उहाँले बताउनुभयो । अहिले सामाजिक सञ्जाल र आधुनिक मनोरञ्जनका माध्यममा युवाको आकर्षण बढिरहेको अवस्थामा उनीहरूलाई आफ्नै मौलिक संस्कृति र परम्परासँग जोड्नु चुनौतीपूर्ण भए पनि आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिले व्यास नगरपालिका-५ बाट सुरु भएको पहललाई विस्तार गर्दै जिल्लाका विभिन्न पालिका तथा समुदायसम्म पुर्याउने लक्ष्य अभियानमा सहभागीहरूको छ । विभिन्न स्थानमा स्थानीय भजनप्रेमी तथा युवालाई जोडेर शनिबारको भजन कार्यक्रम सञ्चालन गरिनेछ ।
पुराना पुस्ताले जानेका भजन नयाँ पुस्ताले सिक्ने र नयाँ पुस्ताले त्यसलाई फेरि अर्को पुस्तामा हस्तान्तरण गर्ने वातावरण निर्माण गर्नसके भजन संस्कृति संरक्षणसँगै सामाजिक सम्बन्ध बलियो हुने अपेक्षा गरिएको लामिछानेले बताउनुभयो ।
