Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१२ घण्टाको त्रासदीपूर्ण खोजीपछि सकुशल भेटिइन् दुई वर्षीया विन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार |

बारा । शनिबार साँझ घरअगाडि खेलिरहेकी दुई वर्षीया विन्दी मण्डल अचानक बेपत्ता भएपछि बाराको कलैया क्षेत्रमा एकाएक त्रास फैलियो।

परिवारका सदस्यहरू रोइरहेका थिए, स्थानीयहरू टर्च बोकेर खेत, बाटो र बस्तीमा खोजिरहेका थिए भने प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत रातभर खोजी अभियानमा जुटेका थिए।

कलैया उपमहानगरपालिका–१ कट्टीपर्साकी विन्दी शनिबार साँझ करिब ५ः३० बजे घरअगाडिबाट हराएकी थिइन्। साँझ ढल्कँदै जाँदा बालिका कतै नदेखिएपछि परिवारको चिन्ता बढ्यो। रात पर्दासम्म कुनै अत्तोपत्तो नलागेपछि घटना झन् रहस्यमय बन्दै गएको थियो।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा विशेष खोजी अभियान सञ्चालन गर्यो।

तालिमप्राप्त कुकुरसहितको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित क्षेत्रहरूमा रातभर खोजी जारी राखे। बालिकाको अवस्थाबारे कुनै संकेत नपाउँदा परिवार र स्थानीयको चिन्ता चरममा पुगेको थियो।

तर आइतबार बिहान करिब ५ बजे घटनाले सुखद मोड लियो। कलैया–२६ सिसवा महेशपुरमा स्थानीय महिला सल्मा नेशाले सडककिनारमा रोइरहेकी बालिकालाई देखिन्। उनले तत्काल प्रहरीलाई खबर गरिन्। प्रहरी टोली घटनास्थलमा पुगेर बालिकाको उद्धार गर्न सफल भयो।

बालिका आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ फेला परेकी थिइन्। स्वास्थ्य परीक्षणपछि उनी पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसपछि विन्दीलाई परिवारको जिम्मा लगाइयो।

यद्यपि, दुई वर्षीया बालिका रातभर कसरी घरदेखि टाढा पुगिन् भन्ने प्रश्न अझै अनुत्तरित छ। उनी आफैं त्यहाँ पुगेकी हुन् वा कसैले लगेर छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

१२ घण्टासम्मको तनाव, आँसु र अनिश्चिततापछि विन्दी सकुशल भेटिएसँगै परिवारमा खुसी फर्किएको छ। तर यो घटनाले बालबालिकाको सुरक्षा र अभिभावकीय निगरानीको महत्वबारे गम्भीर प्रश्नसमेत उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan