Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व अंगदान दिवस नेपालमा पनि मनाइयो : अंगदानबाट २५ जनाले पाए नयाँ जीवन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | L.B.Sagar Shrestha
newsabhiyan

काठमाडौं — ‘अंगदान जीवनदान’ भन्ने मूल नाराका साथ विश्व अंगदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। स्वास्थ्य अभियान नेपालको आयोजनामा भएको कार्यक्रममा अंगदानसम्बन्धी जनचेतना अभिवृद्धि, अंग प्रत्यारोपणको अवस्था, दाता परिवारको योगदान तथा मृत्युपछि अंगदानको महत्वबारे चर्चा गरिएको थियो।

कार्यक्रममा अंग प्रत्यारोपण अभियानका अभियन्ता तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा अंगदान र प्रत्यारोपणको वर्तमान अवस्था, चुनौती तथा उपलब्धिबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले ‘कसैको अन्त्य पनि कसैको सुरुवात हो’ भन्ने भावनालाई आत्मसात् गर्दै मृत्युपछि अंगदान गर्न सके एक व्यक्तिले धेरै मानिसलाई नयाँ जीवन दिन सक्ने बताउनुभयो।

डा. श्रेष्ठका अनुसार नेपालमा सन् २००८ बाट मृगौला प्रत्यारोपण र सन् २०१६ बाट कलेजो प्रत्यारोपण सुरु भएको हो। हालसम्म नेपालमा करिब ३ हजार जनाको मृगौला र ७५ जनाको कलेजो प्रत्यारोपण भइसकेको उहाँले जानकारी दिनुभयो। नेपालमा गरिएको अंग प्रत्यारोपणको सफलता दर करिब ९० प्रतिशत रहेको पनि उहाँले बताउनुभयो।

उहाँका अनुसार विदेशमा रोजगारीका लागि जाने नेपालीमध्ये करिब ३० प्रतिशतमा मृगौला फेल हुने गरेको तथ्यसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो। अस्वस्थकर जीवनशैली, पर्याप्त पानी नपिउने, कामको प्रकृति, खानपान तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले मृगौलासम्बन्धी समस्या बढ्दै गएको उहाँको भनाइ थियो।

नेपालको कानुनी व्यवस्थाअनुसार एक व्यक्तिको मृत्युपछि विभिन्न आठवटा अंग दान गर्न सकिने व्यवस्था रहेको छ। हालसम्म नेपालमा करिब २ हजार ८ सय जनाले मृत्युपछि अंगदान गर्ने मञ्जुरी दिइसकेको जानकारी कार्यक्रममा दिइयो। यद्यपि अंगदानप्रतिको जनचेतना अझै पर्याप्त हुन नसकेको आयोजक तथा विज्ञहरूको भनाइ छ।

अंगदान गर्नेको संख्या सीमित भए पनि त्यसबाट प्राप्त परिणाम भने उत्साहजनक रहेको डा. श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार हालसम्म नेपालमा नौ जना मृतकबाट प्राप्त अंगदानका कारण २५ जनाले नयाँ जीवन पाएका छन्। उहाँले अंगदानसम्बन्धी भ्रम र सामाजिक संकोच हटाउँदै मृत्युपछि अंगदान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठले स्वस्थ जीवनका लागि नियमित हिँडडुल तथा शारीरिक सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगबाट बच्नका लागि स्वास्थ्यप्रति सचेत हुनु महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

“अस्वस्थ भए पनि नियमित हिँडडुल गर्नुपर्छ। हाम्रो काम भनेको सचेतना गराउनु हो। जीवनलाई चलायमान राख्नुपर्छ। रोगभन्दा बाठो हुन सक्यौँ भने रोगले कहिल्यै आक्रमण गर्दैन,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रसूतीरोग विशेषज्ञ डा. भोला रिजाल, नेपाल चिकित्सक संघ (एनएमए) का बद्री रिजाल, गोरखापत्रका सम्पादकलगायत स्वास्थ्य, सञ्चार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा अंगदान तथा प्रत्यारोपणका क्षेत्रमा योगदान पुर्‍याउने दाता परिवारहरूलाई सम्मानसमेत गरिएको थियो।

त्यस अवसरमा मृगौला प्रत्यारोपणपछि नयाँ जीवन पाएका दुई जनाले आफ्ना अनुभवसमेत सुनाएका थिए। उनीहरूले अंगदानका कारण आफूहरूले पुनः सामान्य जीवन जिउने अवसर पाएको भन्दै मृत्युपछि अंगदान गर्ने संस्कारको विकास गर्न सबैलाई आग्रह गरे।

नेपालमा अंग प्रत्यारोपणसम्बन्धी कानुनी तथा चिकित्सकीय प्रक्रियामा सुधार हुँदै गएको र अब नातेदार नभएका व्यक्तिका लागि समेत निश्चित कानुनी प्रक्रियाबाट अंग प्रत्यारोपण गर्न सकिने अवस्था बन्दै गएको कार्यक्रममा जानकारी दिइएको थियो। यसले अंग प्रत्यारोपणको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा विगत केही वर्षयता अंगदान तथा प्रत्यारोपणसम्बन्धी अभियानले गति लिए पनि जनचेतनाको अभाव अझै प्रमुख चुनौतीका रूपमा रहेको विज्ञहरूको भनाइ छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक भ्रमका कारण कतिपय परिवार मृत्युपछि अंगदान गर्न हिचकिचाउने गरेका छन्। त्यसैले विद्यालय, कलेज, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा सामाजिक संघसंस्थामार्फत निरन्तर जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा कार्यक्रममा जोड दिइयो।

आयोजक स्वास्थ्य अभियान नेपालले अंगदानसम्बन्धी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहबाट प्राप्त सुझावहरू सम्बन्धित निकायसमक्ष हस्तान्तरण गरी अंगदान तथा प्रत्यारोपणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिने आयोजकले जनाएको छ।

अंगदान केवल चिकित्सा क्षेत्रको विषय नभई मानवीय सेवाको महत्वपूर्ण अभियान भएको सहभागीहरूको निष्कर्ष थियो। जीवनको अन्त्यपछि आफ्ना अंगहरू अरूको जीवन बचाउन सकिने भएकाले मृत्युपछि अंगदान गर्ने इच्छाबारे परिवारलाई जानकारी गराउनु र कानुनी रूपमा मञ्जुरी दिनु आवश्यक रहेको उनीहरूले बताएका छन्।

‘कसैको अन्त्य पनि कसैको सुरुवात हो’ भन्ने सन्देशसहित मनाइएको विश्व अंगदान दिवसले नेपालमा अंगदानसम्बन्धी सकारात्मक सोचको विकास गर्न तथा अंग प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीलाई नयाँ आशा दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan