‘कृषि क्षेत्रलाई थप उत्पादनमुखी प्रदेश सरकार प्रतिबद्ध छ’
जनकपुरधाम, २९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै कृषि क्षेत्रलाई थप उत्पादनमुखी, दिगो तथा प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सुरु भएको जलवायु अनुकूलन लगानी योजनाको आज शुभारम्भ गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकार, विकास साझेदार संस्था, वित्तीय निकाय तथा स्थानीय समुदायबीचको सहकार्यबाट मात्रै जलवायु सहनशील मूल्य शृङ्खला निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गएको बताउँदै मुख्यमन्त्री यादवले त्यस्ता चुनौतीलाई आत्मसात् गर्न मधेस प्रदेश सरकारले राहतमुखी तथा टुक्रे योजनाभन्दा माथि उठेर दीर्घकालीन, लगानीयोग्य र जलवायु अनुकूल विकास मार्गचित्रमा अघि बढ्ने दृढसङ्कल्प गरेको बताउनुभयो ।
स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै मधेस प्रदेशका सबै क्षेत्रमा स्रोतको प्रभावकारी परिचालन गरिने र बजेटको दोहोरोपन हटाई सार्वजनिक–निजी साझेदारीको ढाँचा अपनाएर निजी क्षेत्रलाई कृषि, सिँचाइ, भण्डारण, प्रशोधन तथा जलवायुमैत्री पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने मुख्यमन्त्री यादवको भनाइ थियो ।
कार्यक्रममा एडिबीका प्रतिनिधि इयान हयानसमले मधेस प्रदेश जलवायु जोखिमको उच्च प्रभावमा रहेको क्षेत्र भएकाले यहाँका किसान, विपन्न समुदाय र प्राकृतिक स्रोतहरूको संरक्षणका लागि परियोजना सञ्चालन गर्न लागिएको बताउनुभयो । कार्यक्रममा एडिबीका प्रतिनिधि इयान हयानसमले मुख्यमन्त्री यादवलाई जलवायु अनुकूलन लगानी योजनासम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
