शेरबहादुर दाइ, बुढानीलकण्ठका ती ‘नजिकका’ मान्छेहरू कहाँ हराए ?
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि स्वदेश फर्किएसँगै कांग्रेसभित्र नेतृत्व, पहुँच र निजी सचिवालयको भूमिकामाथि फेरि प्रश्न उठ्न थालेका छन्।
प्रश्न देउवामाथि मात्रै होइन, वर्षौंसम्म उनको वरिपरि प्रभावशाली देखिएका पात्र र समूहप्रति पनि लक्षित छ।
कांग्रेसभित्र अहिले एउटा असहज प्रश्न सुनिन थालेको छ—विनोद चौधरी, उमेश श्रेष्ठ, उदयशमशेर राणा, दीपक भट्ट, रामचन्द्र भट्ट, चन्दा चौधरी, धीरजप्रताप सिंह, सुनील थापा, सन्दिप रानामगर, ठेकेदार जिप छिरिङ लामा, ठेकेदार वर्ण न्यौपाने, ठेकेदार रमेश शर्मा लगायतका ‘नजिकका’ भनिएका पात्रहरू अहिले कहाँ छन् ?
यी नामहरू विभिन्न राजनीतिक तथा व्यावसायिक वृत्तमा चर्चामा आएका व्यक्ति हुन्। उनीहरूमाथि गैरकानुनी गतिविधि वा व्यक्तिगत लाभ लिएको आरोपलाई तथ्य र प्रमाणबिना निष्कर्षका रूपमा प्रस्तुत गर्न मिल्दैन।
तर कांग्रेसभित्र उनीहरूको पहुँच, भूमिका र नेतृत्वसँगको निकटताबारे प्रश्न उठ्नु भने स्वाभाविक हो।
विशेषगरी देउवाका स्वकीय सचिव भानु देउवामाथि कांग्रेसभित्र प्रश्न उठाउनेहरूको संख्या बढ्दो छ। आलोचकहरू सोध्छन्—‘भानुजी, तपाईंले सुटुक्क–सुटुक्क भेटवार्ता गराउनुभएका भनिएका ती मानिसहरू अहिले कहाँ छन् ? सम्पर्कमा छन् कि छैनन् ?’
अर्को प्रश्न अझ गम्भीर छ—नेता र कार्यकर्तालाई पन्छाउँदै बुढानीलकण्ठ बोलाइने पहुँचवाला, ठेकेदार र प्रभावशाली समूह अहिले कहाँ हराए ?
राजनीतिक नेतृत्वको निजी सचिवालय सामान्य प्रशासनिक सहयोगी संयन्त्र हो कि समानान्तर शक्ति केन्द्र ? कांग्रेसभित्र उठेको यो प्रश्नको जवाफ स्वयं सचिवालयले दिनुपर्ने अवस्था आएको छ।
देउवाको पारिवारिक घेरालाई लिएर उठ्ने आलोचना पनि नयाँ होइन।
परिवारका सदस्यलाई राजनीतिक पहुँचको केन्द्रमा राख्दा त्यसको प्रत्यक्ष असर नेतृत्वको सार्वजनिक छविमा पर्ने कांग्रेसका कतिपय नेताहरुले आफ्नो भनाई अभियान टाइम्स प्रतिनिधिसँग राख्दै आएकाछन् ।
भानु देउवा ,प्रकाश देउवाको नाम जोडेर हुने आलोचनाले अन्ततः शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको राजनीतिक छविमै असर पार्ने गरेको उनीहरूको तर्क छ।
तर यहाँ एउटा महत्वपूर्ण प्रश्न पनि छ—दोष व्यक्ति विशेषको मात्रै हो कि त्यो घेरालाई निरन्तरता दिने राजनीतिक संस्कारको ?
कांग्रेस कमजोर हुनुको कारण बाहिरका विरोधी मात्रै होइनन्।
पार्टीभित्रै पहुँचका आधारमा अवसर बाँडिने, इमानदार कार्यकर्ता पन्छाइने र शक्तिशाली व्यक्तिको वरिपरि निर्णय केन्द्रित हुने प्रवृत्तिले संगठनलाई भित्रैबाट कमजोर बनाउने खतरा हुन्छ।
बीपी कोइरालाले आलोचना गरेको ‘सुकिला–मुकिला’ प्रवृत्तिको चर्चा आज फेरि कांग्रेसभित्र हुनु त्यसैको संकेत हो। सिद्धान्त र संगठनभन्दा पहुँच, विचारभन्दा व्यक्तिगत स्वार्थ र कार्यकर्ताभन्दा प्रभावशाली घेरालाई प्राथमिकता दिइयो भने जुनसुकै पुरानो पार्टी पनि क्रमशः जनताबाट टाढिन सक्छ।
अब देउवाका लागि पनि प्रश्न सरल छ—तपाईंको वरिपरि रहेका भनिएका ती पात्रहरू कहाँ छन् ? एक पटक भानु देउवासँग गोप्य वार्ता गर्नुहोस् । माथी उल्लेख गरिएका महाशयहरूको भूमिका के थियो ?
निर्णय प्रक्रियामा उनीहरूको पहुँच कति थियो ? अहिले कस्तो छ ? र पार्टीका इमानदार नेता–कार्यकर्ताका लागि बुढानीलकण्ठको ढोका किन साँघुरो भयो ? एक नेताले कुराकानीका क्रममा अभियान टाइम्सका प्रतिनिधिसँग खरोरुपमा कुरा राखे ।
अझ महत्वपूर्ण कुरा, कांग्रेसलाई एक बनाउन गगन थापा र शेरबहादुर देउवाबीच सहकार्य र संवाद आवश्यक देखिन्छ। पुस्तान्तरणको बहसलाई गुटबन्दीमा होइन, संगठन सुदृढीकरणमा बदल्न सके कांग्रेसले नयाँ ऊर्जा पाउन सक्छ।
अब कांग्रेसले एउटा निर्णय गर्नैपर्छ—दलाल, बिचौलिया र स्वार्थ समूहको घेरामा पार्टी चलाउने कि विचार, नीति र कार्यकर्ताको बलमा पार्टी पुनर्निर्माण गर्ने ?
शेरबहादुर दाइ, प्रश्नहरू धेरै छन्। जवाफ दिने समय पनि यही हो। किनकि पार्टी कमजोर हुँदा कुर्सी मात्रै हल्लिँदैन, दशकौँदेखि पसिना बगाएका हजारौँ कार्यकर्ताको भरोसा पनि हल्लिन्छ।
