Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

NFPJ काे निमन्त्रणामा बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३० शनिबार |
newsabhiyan


काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा बंगलादेश फोटो पत्रकार संघका १२ जना फोटो पत्रकार नेपाल आइ पुगेका छन् ।  संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा आएको टोलीले भाद्र ३ गते विश्व फोटोग्राफी दिवसका अवसरमा नेपालमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ ।

बंगलादेशी फोटो पत्रकार टोलीले विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ‘ब्युटिफुल बंगलादेश’ फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमार्फत बंगलादेशको प्राकृतिक सौन्दर्य, संस्कृति, जनजीवन तथा पर्यटनका विविध पक्षलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिनेछ ।

टोली आजै पोखरा र चितवनको तीनदिने भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, पर्यटन गतिविधि तथा स्थानीय जीवनशैलीको अवलोकन गरी त्यसलाई तस्बिर तथा सञ्चारमाध्यममार्फत बंगलादेशमा प्रचार–प्रसार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको निमन्त्रणामा बंगलादेशी फोटो पत्रकार टोली नेपाल आएको हो । उनका अनुसार बंगलादेश फोटो पत्रकार संघ र नेपालका फोटो पत्रकारहरूको संस्थाबीच विगत २१ वर्षदेखि भाइचारा, सहकार्य र आपसी सम्बन्ध निरन्तर रहँदै आएको छ ।

अध्यक्ष वन्तले दुई देशका फोटो पत्रकारबीच हुने यस्ता भ्रमण, तस्बिर आदानप्रदान तथा पर्यटन प्रवद्र्धनका गतिविधिले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“फोटो पत्रकारितामार्फत एकअर्का देशका पर्यटन, संस्कृति, प्राकृतिक सौन्दर्य र जनजीवनलाई विश्वमाझ चिनाउन सकिन्छ । यसले दुई देशबीचको पर्यटन, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारमा सफ्ट डिप्लोमेसीको काम गर्छ,” अध्यक्ष वन्तले भने ।

उनका अनुसार यस्ता कार्यक्रमबाट नेपाल र बंगलादेश दुवै देशले एकअर्काको पर्यटन प्रवद्र्धनबाट लाभ लिन सक्नेछन् । विशेषगरी फोटो पत्रकारहरूले प्रत्यक्ष रूपमा भ्रमण गरी तयार पार्ने तस्बिर तथा दृश्य सामग्रीले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमणका क्रममा बंगलादेशी फोटो पत्रकारहरूले पोखरा र चितवनका प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थलको अवलोकन गरी तस्बिर खिच्नेछन् । ती सामग्रीलाई बंगलादेशका सञ्चारमाध्यम तथा फोटो पत्रकारिताका विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ ।

एनएफपीजे नेपालले दुई देशका फोटो पत्रकारबीचको २१ वर्ष पुरानो सम्बन्धलाई अझ सुदृढ गर्दै आगामी दिनमा पर्यटन, संस्कृति, पत्रकारिता तथा व्यावसायिक सहकार्यका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan