Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङकेत गर्नुभएको छ । 

    ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गर्नुभएको हो । ‘स्ट्रेट अफ होर्मुज’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।    

    इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो ।

    ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गर्नुभएको थियो । उहाँले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनुभएको थियो । इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो ।

    ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहोर्‍याउँदै ‘स्ट्रेट अफ होर्मुज’ माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताउनुभएको थियो । 
    विदेश नीतिमा विवादास्पद कदम चाल्दै आउनुभएका ट्रम्पले यसअघि पनि विदेशी भू–भागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सार्नुभएको थियो । सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उहाँले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गर्नुभएको छ । यद्यपि, तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन।

    फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु हुनुअघि ‘स्ट्रेट अफ होर्मुज’ खुला अन्तरराष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो।

    इरानले भने अमेरिका र इरानबीचको वार्ता तथा जलमार्ग पुनः खोल्नुअघि आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ। ती मागमा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, तेलसम्बन्धी प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने विषय समावेश छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan