कोलकाता होटलमा आगलागी, नौको मृत्यु
कोलकाता, ३ भदौ : भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन् ।
आगलागीमा मृत्यु हुनेहरू बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । उनीहरू उपचारका लागि कोलकाता आएका बताइएको छ । आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन ।
घटनापछि उद्धार तथा राहत टोली परिचालन गरिएको छ र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
पश्चिम बङ्गालमा दुई दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो । सोमबार बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका थिए । उक्त घटनाको प्रारम्भिक कारण सर्ट सर्किट रहेको जनाइएको थियो ।
बीरभूमका प्रहरी अधीक्षक विदित राज भुन्देशले होटलबाट बाहिर धुवाँ वा आगो देखिएपछि प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेको बताउनुभएको थियो ।
उहाँका अनुसार २२ जनालाई सिँढीको प्रयोग गरी उद्धार गरिएको थियो भने अन्य ११ जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो । घटनाबारे पत्रकारहरूसँग कुरा गर्दै उहाँले सात जनाको मृत्यु भएको बताउनुभएको थियो ।
अधिकारीहरूका अनुसार तारापीठको घटनामा २८ जनालाई होटलबाट जीवितै उद्धार गरिएको थियो भने सात जना घाइतेको उपचार भइरहेको थियो । उद्धार गरिएका आठ जनालाई पछि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । मृतकमध्ये पाँच जना मेघालय र तीन जना अलीपुरद्वारका रहेको जनाइएको छ ।
घटनापछि तारापीठका होटल सञ्चालकविरुद्ध प्राथमिकी (एफआइआर) दर्ता गरिएको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आगलागीको कारण, सुरक्षा व्यवस्था तथा होटल सञ्चालनसम्बन्धी विषयमा अनुसन्धानका क्रममा सोधपुछ गरिरहेको छ ।
कोलकाताको पछिल्लो घटनाले पश्चिम बङ्गालमा होटल तथा आवासीय भवनको अग्नि सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ । पछिल्ला दुई घटनामा ठूलो मानवीय क्षति भएपछि सम्बन्धित निकायले होटलमा विद्युत् प्रणाली, आपत्कालीन निकास र अग्नि सुरक्षा उपकरणको अवस्थाबारे समेत छानबिन गर्ने अपेक्षा गरिएको छ ।
