Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

काठमाडौँ, ४ भदौः परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ । 

    मन्त्रालयमा आज भएको उक्त भेटमा उहाँहरुबीच नेपाल–साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा दुवै पक्षले नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

    परराष्ट्रमन्त्री खनालले दुई देशबाट हुने उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप गति दिनाका साथै आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न योगदान पु¥याउने बताउनुभएको थियो ।

    “नेपाल र साउदी अरब बीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ महत्वपूर्ण अवसर हो । आगामी दिनमा दुवै देशबीच उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिँदै आपसी हितका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

    भेटमा मन्त्री खनालले हालै क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिक तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    त्यसैगरी, साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने ‘रिपोर्ट’प्रति मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गर्नुभएको थियो । उहाँले साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ता ल्याउने कार्यमा साउदी अधिकारीहरूले पु¥याउँदै आएको सहयोगको पनि प्रशंसा गर्नुभएको थियो ।

    भेटमा दुवै पक्षले नेपाल–साउदी अरबबीच विद्यमान सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

    “नेपाल साउदी अरबसँग राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम र अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक छ । दुई देशबीचको विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अब थप परिणाममुखी साझेदारीमा रूपान्तरण गर्न आवश्यक छ,” मन्त्री खनालले भन्नुभयो । 

    नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan