Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदीप ज्ञवालीको प्रश्न : ‘सबैभन्दा धेरै अवसर पाउने नै किन असन्तुष्ट ?’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार |
newsabhiyan

काठमाडौं, ७ असोज । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र लामो समयदेखि अवसर र जिम्मेवारी पाउँदै आएका नेताहरू नै बढी असन्तुष्ट देखिन थालेको भन्दै नेतृत्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले पार्टीभित्र देखिएको असन्तुष्टिको कारण खोज्नुपर्ने भन्दै अवसर र राजनीतिक मूल्याङ्कनबीचको सम्बन्धमाथि प्रश्न गरेका हुन्।

उनले प्रश्न गरे, ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’

ज्ञवालीको यो प्रश्नले एमालेभित्रको पछिल्लो असन्तुष्टि, नेतृत्वको मूल्याङ्कन पद्धति र अवसर वितरणबारे बहसलाई थप पेचिलो बनाएको छ।

उनले एमाले मात्र नभई समग्र कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र नै असाधारण चुनौतीको अवस्थामा रहेको बताए। यस्तो अवस्थामा पार्टीभित्रको आन्तरिक विवादलाई प्राथमिकता दिनुभन्दा एकता, पुनर्गठन र जनतासँगको सम्बन्ध पुनःस्थापित गर्नुपर्ने उनको जोड थियो।

ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कमजोर वा असफल हुँदैमा एमाले स्वतः सफल हुने भ्रम पाल्न नहुने चेतावनीसमेत दिए। वैकल्पिक राजनीतिक शक्तिको उदयलाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो। ‘विकल्पमा अर्को बुर्जुवा शक्ति तयार गरिँदैछ,’ उनले भने।

उनका अनुसार एमालेको चुनौती विपक्षी वा वैकल्पिक शक्तिमा मात्र छैन, पार्टीको आफ्नै संगठनात्मक अवस्था र जनतासँगको सम्बन्धमा पनि छ। आन्तरिक एकता कमजोर हुनु तथा जनतासँग पार्टीको सम्बन्ध पातलिँदै जानु अहिलेका प्रमुख समस्यामध्ये रहेको उनले बताए।

पार्टी पुनर्गठनको बहससमेत व्यक्ति केन्द्रित हुँदै गएको भन्दै ज्ञवालीले यसले समस्या समाधान गर्नुको सट्टा ध्रुवीकरण बढाइरहेको बताए।

उनले वर्तमान अवस्थालाई व्यंग्यात्मक शैलीमा विश्लेषण गर्दै भने, ‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो अवस्था देखिएको छ।’

ज्ञवालीले नेतृत्व परिवर्तनलाई मात्र पार्टी सुधारको सम्पूर्ण समाधान ठान्ने प्रवृत्तिप्रति पनि असहमति जनाए। त्यसैगरी पुनर्गठनको बहसलाई सीधै विभाजनको प्रयासका रूपमा बुझ्ने सोचले पनि पार्टीलाई निकास दिन नसक्ने उनको भनाइ थियो।

उनका अनुसार अहिले आवश्यक कुरा आरोप–प्रत्यारोप र व्यक्ति केन्द्रित ध्रुवीकरण होइन, समस्या पहिचान गरेर त्यसको संस्थागत समाधान खोज्नु हो।

कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने जिम्मेवारी नेतृत्वको भएको ज्ञवालीले बताए। पार्टीभित्रको विवाद लम्बिँदै जाँदा त्यसको प्रत्यक्ष असर संगठन र जनतामाझको प्रभावमा पर्ने उनको संकेत थियो।

ज्ञवालीले एमालेको राजनीतिक ध्यान सत्ता समीकरण र आन्तरिक विवादबाट बाहिर निकालेर जनजीविकाका मुद्दामा केन्द्रित गर्नुपर्ने बताए। लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको संरक्षण र जनताका दैनिक समस्यालाई आगामी राजनीतिक कार्यभारको केन्द्रमा राख्नुपर्ने उनको सुझाव थियो।

पार्टीभित्रका विषयमा आफूले सार्वजनिक रूपमा धारणा राख्दै आएको उल्लेख गर्दै ज्ञवालीले आफ्ना कुरा घुमाउरो वा छद्म रूपमा राख्नुपर्ने अवस्था नरहेको बताए।

मिडियामार्फत तत्काल चर्चा र राजनीतिक लाभ खोज्ने प्रवृत्तिप्रति पनि उनले कटाक्ष गरे। ‘मिडिया ट्रायलले एकछिनलाई न्यानो दिन्छ। मिडिया हाइपले एकछिनलाई सन्तुष्टि देला, तर काम लाग्दैन,’ ज्ञवालीले भने।

उनको अभिव्यक्तिले एमालेभित्र चलिरहेको नेतृत्व, पुनर्गठन, अवसरको वितरण र वैकल्पिक शक्तिको चुनौती सम्बन्धी बहसलाई एकैपटक सतहमा ल्याएको छ।

विशेषतः ‘अवसर धेरै पाउने नै असन्तुष्ट किन ?’ भन्ने प्रश्नले पार्टीभित्र असन्तुष्टिको वास्तविक स्रोत व्यक्ति हो कि प्रणाली भन्ने बहसलाई थप गहिरो बनाएको छ।

यो पनि पढ्नुहोस् :
‘ओली हटाउने होइन, कोर्स करेक्सन’ : एमाले बैठकमा पोखरेलको स्पष्टीकरण, नेतृत्वभित्रको दूरीबारे बहस चर्कियो

एमालेमा ज्ञवालीको तेस्रो प्रतिवेदन : ओलीको बचाउ, हारका अनेक कारण

एक वर्षपछि पनि पुराना दलको ऐना धुमिल : जेन–जी विद्रोहले दिएको सन्देश बिर्सिए कांग्रेस, एमाले र माओवादी : देउवा–ओली–प्रचण्डकै वरिपरि घुम्दै पुरानो राजनीति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan