भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन समितिको सभापतिमा पौडेलको मात्र उम्मेदवारी
काठमाडौँ, २१ असोजः राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिका लागि नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम सभापति पदका लागि आज अपराह्न ४ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकामा पौडेलको मात्र उम्मेदवारी परेको छ । राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा जारी सूचनामा अन्तिम नामावलीअनुसार पौडेलले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिनुभएको हो । उहाँको प्रस्तावकमा सांसद श्रीकृष्णप्रसाद अधिकारी तथा समर्थकमा सांसद सम्झना देवकोटा र तुलप्रसाद विश्वकर्मा रहनुभएको छ ।
स्याङ्जाको भीरकोट–२ घर भएका ६६ वर्षीय पौडेलको मात्र सभापति पदमा उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ । सभापति चयनको औपचारिक प्रक्रिया समतिको बिहीबारको बैठकमा हुनेछ ।
