मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट
काठमाडौँ, २१ असोजः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रीन ग्रोथ ईन्स्टिच्युट (जिजिजिआइ) का नेपाल तथा पाकिस्तानका राष्ट्रिय प्रतिनिधि लौरा जलस्जोकी भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भेटमा उहाँहरुबिच हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । जिजिजिआइ ५५ देशमा कार्यरत अन्तरराष्ट्रिय तथा अन्तरसरकारी संस्था हो । जिजिजिआइ प्रतिनिधिमण्डलले समावेशी तथा दिगो आर्थिक विकासमार्फत जलवायु उत्थानशील र समृद्ध विश्व निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।
नेपाल सन् २०२२ देखि यसको सदस्य रहेको छ । राष्ट्रिय प्रतिनिधि जलस्जोकीले जिजिजिआइले कृषि, सिँचाइ, कृषि उपज प्रशोधन तथा जलवायु क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र मधेस प्रदेशमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा काम गरेको जानकारी दिनुभएको थियो ।
सो अवसरमा मन्त्री चौधरीले हरित हाइड्रोजन र स्वदेशमै रासायनिक मल उत्पादन नेपालको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै हरित हाइड्रोजनको विकासलाई मल उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु वित्त मन्त्रालयको प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्दै हालैको भोटेकोशी बाढीका कारण कृषि भूमि तथा पूर्वाधारमा भएको क्षतिले खाद्य सुरक्षा र कृषकको जीविकोपार्जनमा चुनौती थपिएको बताउनुभयो ।
