रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीसँग आग्रह गरेको छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कन गर्न समयमै, पूर्ण र पारदर्शी रूपमा सूचना आदानप्रदान आवश्यक रहेको बताउनुभएको छ । उहाँले आवश्यक परे मस्कोलाई प्राविधिक सहयोग उपलब्ध गराउन डब्लुएचओ तयार रहेको बताउनुभयो ।
टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स’मा डब्लुएचओले इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युटमा प्रयोगशालाका एक कर्मचारीको मृत्युबारे अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार ती कर्मचारीलाई अक्टोबर २ मा गम्भीर निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो र पछि उनको मृत्यु भएको थियो ।
प्रारम्भिक सञ्चारमाध्यमका खबरमा प्रयोगशालामा भएको भनिएको दुर्घटनात्मक सम्पर्कपछि ती कर्मचारीमा ‘न्युमोनिक प्लेग’ सङ्क्रमण भएको हुन सक्ने उल्लेख गरिएको थियो । तर, डब्लुएचओले यसबारे थप आधिकारिक जानकारी मागेको छ ।
डब्लुएचओले शनिबार अन्तरराष्ट्रिय स्वास्थ्य नियमन (आइएचआर) अन्तर्गत रुसी अधिकारीसँग घटनाबारे जानकारी मागेको थियो । आइएचआर सीमापार फैलिन सक्ने जनस्वास्थ्य जोखिम तथा आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि देशको अधिकार र दायित्व निर्धारण गर्ने कानुनी रूपमा बाध्यकारी अन्तरराष्ट्रिय ढाँचा हो । यसअन्तर्गत देशले आइएचआरका अनुरोधमा समयमै जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । रुसले मङ्गलबार आइएचआरलाई जवाफ दिएको थियो ।
टेड्रोसका अनुसार आइएचआरले गम्भीर निमोनियाको कारण, जनस्वास्थ्यका लागि जोखिम उत्पन्न गर्न सक्ने रोगजनकको सम्भावित पहिचान तथा अज्ञात कारणले निमोनिया भएका भनिएका अर्का कर्मचारीबारे थप स्पष्टीकरण मागेको छ ।
उपलब्ध सूचनाका आधारमा आइएचआरको प्रारम्भिक जोखिम मूल्याङ्कनले इर्कुत्स्क क्षेत्रमा जोखिम मध्यमदेखि न्यून, समग्र रुसमा न्यून र युरोपमा अति न्यून रहेको जनाएको छ ।
मङ्गलबार तान्जानियामा विश्वभरका सांसदलाई सम्बोधन गर्दै टेड्रोसले स्वास्थ्य क्षेत्रमा अन्तरराष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभएको थियो । “भाइरसले सीमा मान्दैनन्,” उहाँले भन्नुभयो ।
