गनन्जय र शेखरको जोडी च्याम्पियन
काठमाडौं असोज २४ गते । होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगितामा गनन्जय दाहाल र शेखर श्रेष्ठको जोडी शनिबार च्याम्पियन बनेका छन् ।
बालकुमारीस्थित आयोजक होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा गनन्जय र शेखरको जोडीले रिभान वज्राचार्य र रिजान शाक्यको जोडीलाई ५–११, ११–८, ११–३, ३–११ र १२–१० को सेटमा पराजित गरे । २० औं एसियाली खेलकुदमा सहभागिता जनाइसकेका गनन्जयको पार्टनर शेखर ६८ वर्षका हुन् । खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाए ।
विजेतालाई प्रतियोगिताका मुख्य प्रायोजक सुमन खड्गीले पुरस्कृत गरे । विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजित एकदिने प्रतियोगितामा ४० जोडीले प्रतिस्पर्धा गरेका थिए । सहभागीले पुरुष÷पुरुष वा पुरुष÷महिलाको जोडी बनाएर प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो । प्रतियोगितामा एक डबल्स स्पर्धामा मात्र प्रतिस्पर्धा भएको थियो ।
टेबलटेनिस परिवारलाई एकै थलोमा भेला गराइ दशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्नुका साथै हरेक उमेरसमूहका खेलाडीलाई एउटै प्रतियोगितामा संगै खेल्ने अवसर प्रदान गर्न मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा नौंपटककी राष्ट्रिय च्याम्पियन एवं एसियाली खेलकुदमा लगातार पाँचपटक सहभागिता जनाएकी नविता श्रेष्ठ, राष्ट्रिय च्याम्पियन संयोग कपाली, राष्ट्रिय टेबलटेनिसका वर्तमान उपविजेता एलेक्स महर्जन, भेट्रान खेलाडी, उमेरसमूहका खेलाडीले एउटै मञ्चमा प्रतिस्पर्धा गरेका थिए ।
शनिबारै मुख्य प्रायोजक खड्गीले होप्स टेबलटेनिस एकेडेमीको औपचारिक उद्घाटन पनि गरे । करिब ५० लाखको लगानीमा होप्सका सञ्चालक आईटीटीएफ लेभल २ प्रशिक्षक प्रज्ज्वल श्रेष्ठले एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीमा हाल ३० प्रशिक्षार्थी छन् । एकेडेमीमा आवश्यक पर्ने टेबल र म्याट लिनिङले प्रायोजन गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
