रियाद विमानस्थलमा ‘कथित हुथी आक्रमण’पछि विमानस्थल खाली गराइयो, केही व्यक्ति घाइते भएको जानकारी
यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको एक कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ । दर्जनौं घाइते भएको जनाइएको छ भने एक प्रत्यक्षदर्शीले टर्मिनलमा आतङ्कको वर्णन गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी अधिकारीहरूले कुनै नयाँ आक्रमण वा विमानस्थल खाली गर्ने कार्य भइरहेको भन्ने सूचनाको खण्डन गरेका छन् तर एक प्रत्यक्षदर्शीले उडान चढ्न प्रतीक्षा गर्दा विस्फोटको आवाज सुनेको बताएका छन् । अर्काले आक्रमण भएको आफुले देखेको र मानिसहरू घाइते भएको बताए ।
“म घरेलु टर्मिनलको गेट ४०३ मा थिएँ”, प्रत्यक्षदर्शीले एएफपीसँग भने, “मैले ४०१ मा प्रहार भएको देखेँ, मेरो आँखा अगाडि घाइतेहरू देखेँ। सबै भाग्दै थिए।”
स्थानीय अस्पतालको एक स्रोतले एएफपीलाई दिएको जानकारीमा विमानस्थलमा घाइते भएका पाँच जना सघन उपचार कक्षमा उपचाररत रहेको र अन्य ‘दर्जनौं मानिस घाइते भएका छन्।
तीन प्रत्यक्षदर्शीहरूले विमानस्थलबाट मानिसहरूलाई खाली गरिएको पुष्टि गरे।
एक कूटनीतिक स्रोतले एएफपीलाई जानकारी दिँदै भनेको छ, “हुथीहरू नागरिक लक्ष्यमा आक्रमण गर्दैछन्। रियाद विमानस्थल नागरिक लक्ष्य हो । विमानस्थलमा ‘दिउँसो करिब ३ः०० बजे’ क्षेप्यास्त्र प्रहार भएको श्रोतले बतायो ।
विमानस्थलमा बिहीबार यमनका हुथीहरूले दाबी गरेका घातक आक्रमण भएका थिए, तर इरान–समर्थित समूहले शनिबार यस सुविधामा कुनै नयाँ प्रहारको घोषणा गरेको छैन ।
जुलाईमा यमनको रियाद–समर्थित सरकारसँगको दीर्घकालीन युद्धमा युद्धविरामको अन्त्यसँगै यमनी हुथीहरूले साउदी विमानस्थल, तेल सुविधा र ट्याङ्करहरूमा बारम्बार आक्रमण गरेका छन् ।
नागरिक लक्ष्यमा प्रहार भएको साउदी अधिकारीहरूको स्वीकारोक्ति अपेक्षाकृत दुर्लभ छ, र अधिकारीहरूले पछिल्ला हप्ताहरूमा हुथी आक्रमणबारे थोरै मात्र वक्तव्य जारी गरेका छन् ।
