Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार | (रासस)

म्याग्दी, २६ असोजः बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । 

    यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । 

    पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । 

    बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताउनुभयो । 

    “नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उहाँले भन्नुभयो, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।”

    आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताउनुभयो । 

    “सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उहाँले भन्नुभयो “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ । 

    कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan