Sunday 18th of October | २०८३ कार्तिक २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २ आइतबार | रासस

चितवन, १ कात्तिकः विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन ।

    विगत १५ वर्षदेखि  कारागारमा कैद जीवन बिताउँदै आउनुभएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दसँैमा नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

    अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउनुहुन्छ । अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उहाँले जानकारी दिनुभयोे ।

    कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उहाँले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताउनुभयो । अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उहाँको भनाइ छ । अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ । 

    अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् । उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन् । विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आउनुभएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दसँै बाढीपहिरोले लगेको बताउनुहुन्छ । देश नै शोकमा रहेको समयमा उत्साहसहित दसँै मनाउने सोच आफूहरूमा नरहेको उहाँले बताउनुभयो ।

    अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् । कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताउनुभयो । आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उहाँले बताउनुभयो । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan