Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीनपहिनी समाज काठमाडौंको आयोजनामा प्रतिष्ठित व्यक्तित्व सम्मान तथा चाडपर्वको शुभकामना आदानप्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | सागर श्रेष्ठ
newsabhiyan

 

काठमाडौं । तीनपहिनी समाज (मोरङ) काठमाडौंले समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपालीहरूको प्रमुख चाड विजया दशमी, छठ तथा ईदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

असोज २५ गते आइतबार घटस्थापनाको अवसरमा काठमाडौंको सुकेधारास्थित बागमती कलेज बोर्डिङ स्कुलको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष अर्जुन भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा भोटेकोशी क्षेत्रमा बाढीका कारण ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूप्रति एक मिनेट मौनधारण गर्दै गरिएको थियो। त्यसपछि राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रम अघि बढाइएको थियो। समाजका सदस्य सौरव नेपालले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजका प्रमुख सल्लाहकार, विराटनगरका पूर्वप्रधानपञ्च तथा पूर्वक्षेत्रीय प्रशासक ध्रुवनारायण श्रेष्ठ र विशिष्ट अतिथिका रूपमा शिक्षाविद् डा. सुरेन्द्र सिटौला सहभागी थिए।

सो अवसरमा चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अन्तर्राष्ट्रिय खेलाडी एवं मोरङ समाजका पूर्वअध्यक्ष विमल भट्टराई, फुटबल खेलाडी पुनमजङ थापा, अधिवक्ता हरिशंकर कर्ण तथा मोरङ समाजका पूर्वअध्यक्ष शैलेश आचार्यलगायत व्यक्तित्वहरूलाई कदरपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो।

समाजसेवामा निःस्वार्थ भावना र ऊर्जाको आवश्यकता

प्रमुख अतिथि ध्रुवनारायण श्रेष्ठले सामाजिक तथा सामुदायिक कार्यक्रम सफल बनाउन आर्थिक र भौतिक सहयोगसँगै सक्रियता, उत्साह र समर्पण पनि उत्तिकै आवश्यक हुने बताए। उनले आफूले विभिन्न सामाजिक गतिविधिमा निःस्वार्थ भावनाका साथ योगदान गर्दै आएको अनुभव सुनाउँदै समाजसेवामा निरन्तर लागिरहन सबैलाई प्रेरित गरे।

विशिष्ट अतिथि डा. सुरेन्द्र सिटौलाले साहित्य, सिर्जना र राष्ट्रप्रेमका विषयमा आफ्ना विचार राखे। उनले कविता वाचन गर्दै कार्यक्रममा उपस्थित सहभागीहरूको ध्यानाकर्षण गराएका थिए। ‘जय नेपाल’ कुनै एउटा राजनीतिक दलको मात्र शब्द नभई सबै नेपालीले गर्वका साथ भन्न पाउनुपर्ने राष्ट्रिय अभिव्यक्ति भएको उनको भनाइ थियो।

आफू संस्थापक रहेको बागमती कलेजको सभाहलमा साहित्यिक, सांगीतिक तथा अन्य सिर्जनात्मक कार्यक्रम आयोजना गर्न इच्छुक संघसंस्थालाई आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताए। उनले कवितामार्फत जीवन, कर्म र नाफा–नोक्सानभन्दा माथि उठेर मानवीय मूल्यलाई आत्मसात् गर्नुपर्ने सन्देश दिएका थिए।

समाजका अग्रज तथा योगदानकर्तालाई सम्मान

कार्यक्रममा समाजका सल्लाहकार सीताराम पोखरेल, मोरङ समाजका अध्यक्ष ओम मास्के, खेलाडी विमल भट्टराई तथा सम्मानित अभिनेत्री दीपाश्री निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए। वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

समाजको कार्यक्रम सफल बनाउन उल्लेखनीय सहयोग पुर्‍याउने प्रमुख अतिथि ध्रुवनारायण श्रेष्ठ, विशिष्ट अतिथि डा. सुरेन्द्र सिटौला, अध्यक्ष अर्जुन भट्टराई, मोरङ समाजका अध्यक्ष ओम मास्के, गायक सुमित खड्का, समाजसेवी रमेश प्रसाई, निर्मल खतिवडा तथा सनिश भट्टराईलगायतलाई मायाको चिनो ‘टोकन अफ लभ’ प्रदान गरी सम्मान गरिएको थियो।

समाजका सदस्य रूपा कोइराला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। समापन मन्तव्य राख्दै अध्यक्ष अर्जुन भट्टराईले उपस्थित अतिथि, सम्मानित व्यक्तित्व तथा सहभागी सबैप्रति आभार व्यक्त गरे। उनले विजया दशमी, छठ तथा ईदको शुभकामना दिँदै सामाजिक एकता, सहकार्य र आपसी सद्भावलाई अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए।

कार्यक्रमले मोरङबाट काठमाडौंमा आई विभिन्न पेसा, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै समाजसेवा, कला, साहित्य, खेलकुद र सामाजिक योगदानको सम्मान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan