Sunday 11th of October | २०८३ असोज २५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा विधिवत् घटस्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार | (रासस)

काठमाडौँ, २५ असोजः हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः४७ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । 

    घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रूपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनुअघि हनुमानढोका दसैँ घरको घडाको जल, जमरालगायत टीका प्रसाद राजदरबार लगिन्थ्यो ।
  
    हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण पनि गर्ने गरिएको छ । हनुमानढोका दरबारको दसैँ घरसँगै नेपालीले आ–आफ्ना घरको पूजा कोठा वा दसैँ घरमा घटस्थापना गरेका छन् । घटस्थापनासँगै आजैदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको छ । कुनै स्थान र समुदाय विशेषमा भने आश्विन शुक्ल द्वितीयाको रातिको जुन हेरेर मात्र घटस्थापना गरी जमरा राख्ने प्रचलन रहेकोसमेत जनाइएको छ । 

 पहिलो दिन गरियो शैलपुत्रीको पूजा, आराधना 
 
    नवरात्रको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । देवीले महासरस्वती, महाकाली र महालक्ष्मीको रूप लिएर फरकफरक काम गर्ने शास्त्रीय मान्यता छ । 
  
    तीन रूप लिएर काम गर्न नवदुर्गा, अष्टमातृका, कुमारी आदिले सहयोगको भूमिका निर्वाह गर्ने भएकाले पहिलो दिन आज शैलपुत्री देवीको पूजा आराधनाको विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  
 
    पहिलो दिन आज दुई वर्षकी कन्यालाई कुमारीका रूपमा पूजा गरिन्छ । दोस्रो दिनदेखि तीन, चार गरेर महानवमीका दिन १० वर्षकी कन्याको पूजा गर्ने विधि रहेको पनि उहाँले बताउनुभयो ।
 
    नवरात्र सुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । घटस्थापनाका दिन आज सार्वजनिक बिदा परेकाले पनि शक्तिपीठमा भक्तजनको लाम लागेको हो । नवरात्र शक्ति उपासनाका लागि विशेष पर्वका रूपमा मनाइन्छ । उपत्यकाका गुह्येश्वरी, नक्साल र शोभा भगवती, कालिकास्थान, भद्रकालीलगायत देवीस्थानमा भक्तजनको लाम लागेको जनाइएको छ । शक्तिपीठमा उज्यालो बत्तीले झिलीमिली बनाइएका कारण बेलुका देवीको आरतीमा पनि धेरै भक्तजनको लाम लाग्ने गरेको छ ।
 
    आजदेखि आश्विन शुक्ल नवमी आर्थात् महानवमीका दिनसम्म प्रत्येक दिन छुट्टाछुट्टै देवीको विशेष आराधना गर्ने विधि छ । स्थानविशेष र समुदाअनुसार कतै आश्विन शुक्ल सप्तमी, कतै महाअष्टमीका दिनदेखि विशेष रूपमा देवीको पूजा आराधना गर्ने परम्परासमेत छ । 
 
    वर्षमा चार नवरात्र परे पनि आश्विन शुक्ल पक्षमा विशेष आराधना गर्ने भएकाले यसलाई बडादसैँ भनिन्छ । पुस, चैत र असारमा पर्ने नवरात्रलाई लुप्त पर्वका रूपमा मनाउने गरिन्छ । यसमध्ये चैतमा पर्ने नवरात्रमा भने चैते दसैँ मनाउने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan