कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन
काठमाडौँ, ११ कात्तिकः हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नराख्न निर्देशन दिनुभएको हो । उहाँले अन्तरराष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधि विषयविज्ञ, पर्याप्त तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेतासमेत रहनुभएका सभापति पराजुलीले नेपालको पेभिलियन तथा वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएको क्षतिलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
साथै, विपद्बाट भएको क्षतिका विषयसँगै नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देश पनि अन्तरराष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषय र अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो । संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री तथा अन्तर–संसदीय सङ्घ (आइपियु)मा सभामुखले व्यक्त गर्नुभएका धारणालाई समेत ध्यानमा राख्दै नेपालको राष्ट्रिय हितअनुकूल वार्ता अघि बढाउनुपर्नेमा समितिले जोड दिएको छ ।
समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल भएको छ । प्रत्येक समूहमा तीन सदस्य रहने र सदस्यहरूको रुचि तथा विषयगत दक्षताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिने जनाइएको छ ।
समितिले कोप–३१ सम्मेलनमा जलवायु न्याय, जलवायुजन्य विपद्बाट भएको हानि–नोक्सानी तथा नेपालको राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा उठाउँदै नेपालको सहभागितालाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

