Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मौलिकता र आधुनिकतालाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा सभापति थापाको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

ललितपुर, २१ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

    नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै सभापति थापाले भौतिक सम्पदाभन्दा पनि समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताउनुभयो ।

    टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध र सामुदायिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काउने र पुराना सम्पदा संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले दुवै पक्षबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।

    नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गर्दै उहाँले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने धारणा राख्नुभयो ।

    उहाँले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

    स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan