चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति
झापा, १ मङ्सिर ः मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ । उक्त चिया कारखानाको मेसिनबाट दिउँसो १ः५० बजेतिर अचानक आगो निस्किएर आगो फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
आगलागीको खबर प्राप्त हुनासाथ नजिकैको ज्यामिरगढी र चारआलीको प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेको उहाँले बताउनुभयो । मेचीनगर र भद्रपुर नगरपालिकाबाट आएको दमकलले स्थानीयवासी र प्रहरीको सहयोगमा आधा घण्टामै आगलागी पूर्ण रुपमा नियन्त्रण गरेर उद्योगमा थप क्षति हुनबाट जोगाएको थियो ।


