Friday 20th of November | २०८३ मङ्सिर ४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व बाल दिवस: जलवायु परिवर्तन, द्वन्द्व, असमानताका कारण अधिकार संरक्षणमा चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ४ शुक्रबार |

काठमाडौँ, ४ मङ्सिर: जलवायु परिवर्तन, द्वन्द्व, असमानतालगायत कारणले बाल अधिकार सुरक्षा र संरक्षणमा चुनौती देखिएको छ ।

विश्व बाल दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) आफ्नो स्थापनाको ८० वर्ष प्रवेशको पूर्वसन्ध्यामा युनिसेफ नेपाल र नेपाल क्रिकेट सङ्घ र अष्ट्रेलियाली राजदूतावाससँगको सहकार्यमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कार्यक्रममा बाल अधिकारका चुनौतीबारे छलफल भएको हो । 

करिब एक हजार ५०० बालबालिकासहित करिब दुई हजार जनाको सहभागिता रहेको कार्यक्रममा बालबालिकाको अधिकार, लैङ्गिक समानता र सकारात्मक सामाजिक परिवर्तनका लागि खेलकुदको महत्वलाई उजागर गरिएको छ ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले बालबालिका हाम्रा भविष्यमात्र नभई वर्तमानको पनि हिस्सा भएकाले उनीहरूको आवाज महत्त्वपूर्ण हुने बताउनुभयो ।

वयस्कका रूपमा हाम्रो जिम्मेवारी भनेको बालबालिकाका तर्फबाट बोल्नुमात्र होइन, बरु तिमीहरूको कुरा सुन्नु, उनीहरूलाई आफ्ना कुरा आफैँ राख्न सक्ने वातावरण सिर्जना गर्नु र उनीहरूको आवाज सुनिएको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले प्रत्येक बालबालिकाको अधिकार तथा भविष्यको रक्षाका लागि पुन: प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बालबालिकाको अधिकारको पक्षमा वकालत गर्ने र सरकार, समुदाय तथा परिवारहरूलाई यो कुरा सम्झाउने अवसर हो कि प्रत्येक बालबालिकाले सिक्ने, खेल्ने, सहभागी हुने र आफ्नो पूर्ण क्षमता विकास गर्ने अवसर पाउनुपर्ने बताउनुभयो ।

युनिसेफ नेपालकी युवा पैरवीकर्ता स्वर्णिमा कँडेलले प्रत्येक बालबालिकाको आफ्नो भविष्यबारे सपना देख्ने र त्यो सपना पूरा गर्न उचित अवसर पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले तल्लो तहदेखि क्रिकेटमा लगानीका साथै विद्यालयस्तरको क्रिकेटलाई सुदृढ बनाउन आग्रह गर्दै उमेर समूहका प्रतियोगिताहरू विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्षको विश्व बाल दिवसको नारा ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan