Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस-एपी)

किएभ, ७ मङ्सिर : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार आइतबार भएको उक्त कारबाहीमा युक्रेनी सेनाले सातवटा स्वदेशमै निर्मित ड्रोन प्रयोग गरेको थियो ।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले आक्रमणमा रुसी कर्भेट युद्धपोत डुबेको दाबी गर्नुभयो । उक्त जहाज सन् २०२३ मा सेवामा प्रवेश गरेको रुसको पछिल्लो युद्धपोत रहेको उहाँले बताउनुभयो ।

आक्रमणमा रुसी मालवाहक जहाज एमभी अङ्गरालाई समेत निशाना बनाइएको र केए–२७ सैन्य हेलिकप्टर नष्ट भएको उहाँको भनाइ छ । उक्त जहाज मस्कोले हतियार ढुवानीमा प्रयोग गर्दै आएको उहाँले दाबी गर्नुभयो ।

जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) र अन्य रक्षा बललाई धन्यवाद दिँदै निर्धारित लक्ष्य हासिल भएको बताउनुभयो । रुसको आक्रमणको जवाफमा युक्रेनले आफ्नो सैन्य कारबाही र हतियार विकास जारी राख्ने उहाँले उल्लेख गर्नुभयो ।

यसअघि पूर्वी लिबियाका दुई अधिकारीले समुद्री ड्रोन आक्रमणबाट बेनगाजीस्थित रुसी नौसेनाको कर्भेटमा गम्भीर क्षति पुगेको बताएका थिए । स्थानीय बासिन्दाले आइतबार बिहान विस्फोटको आवाज सुनेका र नौसैनिक अड्डामा आगो लागेको देखेका थिए । अधिकारीहरूका अनुसार नागरिक सुरक्षा टोलीले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

लिबियाली अधिकारीहरूको विज्ञप्तिअनुसार उक्त युद्धपोत इन्धन भर्न र आपूर्ति लिन अड्डामा रोकिएको थियो । यसको उपस्थिति रुस तथा पूर्वी लिबियास्थित सरकारबीचको सहयोग सम्झौतासँग सम्बन्धित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan