सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति
तेल अभिभ, ७ मङ्सिर : इजरायलमा सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन कठिनाइ भएपछि याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटले अप्रत्याशित रूपमा गठबन्धन घोषणा गरी एक–दुई दिनभित्रै संसद् नेसेटमा मतदान गराउने रणनीति बनाउनुभएको छ ।
टाइम्स अफ इजरायलका अनुसार अल्ट्रा–अर्थोडक्स, अरब नेतृत्वका दल र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीसँगको वार्तामा प्रगति नभए पनि आइसेनकोट सरकार गठनको प्रयासमा हुनुहुन्छ ।
सम्भावित साझेदारलाई दलबदल गर्ने समय नदिई मतदान गराउने उहाँको योजना छ । केही दल तटस्थ बसेमा अल्पमतको सरकार गठन गरी उहाँ प्रधानमन्त्री बन्न सक्ने आकलन गरिएको छ ।
आइसेनकोटले लिकुडसँग व्यापक सहभागिताको सरकार गठनबारे छलफल गर्न वार्ता टोलीलाई निर्देशन दिनुभएको छ । तर, नेतान्याहुसँग पालैपालो प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै उहाँले आफू नै एकमात्र प्रधानमन्त्री हुनुपर्ने अडान राख्नुभएको छ । लिकुडले भने अरब दलसँगको सहकार्य अन्त्य गर्न आग्रह गरेको छ ।
डेमोक्रेटिक पार्टीका अध्यक्ष यायर गोलानले अल्ट्रा–अर्थोडक्स दल सहभागी सरकारको विरोध नगर्ने बताउनुभएको छ । तर, नेतान्याहुलाई सत्तामा कायम राख्ने उद्देश्यको एकता सरकारमा सहभागी नहुने उहाँको भनाइ छ । नेतान्याहुले भने देशको चुनौती सामना गर्न सबै पक्ष समेटिएको राष्ट्रिय एकता सरकार आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति आइज्याक हर्जोगले नोभेम्बर ८ मा आइसेनकोटलाई सरकार गठनका लागि २८ दिनको समय दिनुभएको थियो । १२० सदस्यीय नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक छ ।
निर्वाचनमा नेतान्याहुको गठबन्धनले ५३ र आइसेनकोट नेतृत्वको समूहले ४८ सिट जितेका थिए । जोइन्टद लिस्ट र राम नामका दुई अरबबहुल दलले क्रमशः ११ र आठ सिट जितेका भए पनि आइसेनकोट समूहका नेताहरूले उनीहरूसँग औपचारिक गठबन्धन नगर्ने बताउँदै आएका छन् ।
