Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसौँ राष्ट्रिय खेलकुदमा फुटबलतर्फ पुलिस र मधेस विजयी, क्रिकेटमा आर्मी र एपिएफको सफलता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | रासस

कर्णाली, ८ मङ्सिरः दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र मधेस प्रदेश तथा महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन् ।

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको प्रदेश रङ्गशालामा आज भएको पुरुष फुटबलको पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गरेको छ । पुलिसका धिरेन्द्र शाहले ३६औँ र सुजन मगरले ४६औँ मिनेटमा गोल गर्नुभएको थियो ।

 

त्यसैगरी, दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोलले हराएको छ । मधेसका विकास दर्लामीले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

 

बुधबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश तथा दोस्रो खेलमा कोशी र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

 

महिला क्रिकेटमा आर्मी र एपिएफ विजयी

 

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएका छन् ।

 

सुर्खेतस्थित प्रदेश रङ्गशालाको क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । टस जितेर पहिले बलिङ गरेको आर्मीले कोशीलाई ६५ रनमा समेटेको थियो ।

 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गर्नुभयो । रुविना महलाले पाँच र सृजनाकुमारी राजवंशीले चार रन बनाउनुभयो ।

 

आर्मीकी यमुना थारूले चार ओभरमा छ रन खर्चेर चार विकेट लिनुभयो । उहाँले दुई ओभर मेडन राख्नुभएको थियो । मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिनुभयो ।

 

जवाफी ब्याटिङ गरेको आर्मीले १३ दशमलव एक ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । आर्मीकी बिन्दु रावलले सर्वाधिक २१, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रन बनाउनुभयो । कोशीकी रुविना क्षेत्रीले तीन र एलिशा खादियाले एक विकेट लिनुभयो । खेलको उत्कृष्ट खेलाडी आर्मीकी यमुना थारू घोषित हुनुभयो ।

 

यसैगरी, समूह ‘बी’ को खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई १५८ रनले पराजित गरेको छ । एपिएफले दिएको १९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव चार ओभरमा ३९ रनमै समेटियो । लुम्बिनीकी श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाउनुभयो ।

 

लुम्बिनीलाई कम योगफलमा रोक्ने क्रममा एपिएफकी करुणा भण्डारीले तीन तथा बिनु बुढा र राजमती ऐरीले दुई–दुई विकेट लिनुभयो ।

 

पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १९७ रन बनाएको थियो । एपिएफकी कप्तान सीता रानामगरले ४२ बलमा एक छक्का र नौ चौकासहित ६६ रन बनाउनुभयो । इन्दु बर्माले २७ बलमा १२ चौकासहित अविजित ५८ र रेवती धामीले ५३ बलमा अविजित ५५ रन बनाउनुभयो ।

 

महिला बास्केटबलमा चार खेल सम्पन्न

 

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलका चार खेल आज सम्पन्न भएका छन् । पहिलो दिनका खेलमा एपिएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेश विजयी भएका छन् ।

 

फुल कोर्ट विधाको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ५२–१९ अङ्कले पराजित गरेको छ । अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ अङ्कले हराएको छ ।

 

त्यसैगरी, थ्री अन थ्री विधामा त्रिभुवन आर्मी क्लबले एपिएफलाई १७–१२ तथा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ अङ्कले पराजित गरेका छन् ।

 

पहिलो दिन महिला बास्केटबलका चार खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिनुभयो ।

 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार आज सुर्खेत रङ्गशालामा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट तथा नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसका खेल सम्पन्न भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan