पाकिस्तान एसँग ९६ रनले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो
काठमाडौँ, ८ मङ्सिर : एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान एसँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा आज भएको खेलमा पाकिस्तान एले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो ।
नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमदले ११ र देव खनालले आठ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाकिस्तानका मोहम्मद हसनैन र सुफियान मुकिमले तीन–तीन विकेट लिए भने मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान एले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । हसन नवाजले २८, हैदर अलीले १५ र अहमद दानियालले १६ रन जोडे ।
नेपालका राशिद खानले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने संयुक्त अरब इमिरेट्स (यूएई) लाई छ विकेटले पराजित गरेको थियो ।
