तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
मधु शाही
काठमाडौँ, ९ मङ्सिरः पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गर्नुभएन । जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो । तर, श्रीमान्को मृत्युपछि उहाँको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो ।
नेपालमै जन्मिनुभएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहनुभएको छ । उहाँको पीडा आफूमा मात्र सीमित छैन । छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उहाँ थप चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ ।”
पम्फाका अनुसार उहाँको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो । १० सन्तानमध्ये जेठी उहाँको परिवार गरिबीको चपेटामा थियो । लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उहाँको विवाह गरिदिनुभएको थियो । “केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,” पम्फाले भन्नुभयो, “न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ ।” त्यसपछि सिलाइ र मजदुरी गर्दै उहाँको दाम्पत्य जीवन बित्यो ।
रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौँ आउनुभएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ । नागरिकता नहुँदाको समस्या उहाँले त्यतिबेला अझ बढी भोग्नुपर्यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्ता पनि बनाउन सम्भव भएन । अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन् ।
“आखिर म पनि यही देशको नागरिक हुँ । मेरो जन्मथलो यही देश हो । मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,” उहाँले भावुक हुँदै भन्नुभयो ।
नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ । त्यसैले उहाँ छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहनुभएको छ । उहाँका अनुसार उहाँको जन्म २०२५ सालमा भएको हो । आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उहाँको चाहना छ ।
“दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै । बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,” उहाँले भन्नुभयो । ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उहाँको भनाइ छ । नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।
माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन । तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उहाँ निराश भएर काठमाडौँ फर्किनुभयो ।
“श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ । तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए । श्रीमान्को थातथलो थाहा छैन । अब कहाँ जाऊँ ?” उहाँले भन्नुभयो ।
