श्रमिक ठगीमा डिपी र शरदसिंहलाई उन्मुक्ति ! सुकुम्वासीमाथि सरकारको अत्याचार
काठमाडौं, १३ मंसिर । सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएर बनेको सरकारमाथि मलेसिया जाने नेपाली श्रमिकबाट अबौं रुपैयाँ असुली गरी विदेश पठाइएको प्रकरणमा आफ्ना निकटस्थलाई जोगाउन खोजेको आरोप लागेको छ ।
एउटै प्रकृतिको घटनामा संलग्न देखिएका केही पूर्वमन्त्री र उच्चपदस्थ अधिकारी पक्राउ पर्दा सभामुख डिपी अर्याल र पूर्वश्रममन्त्री शरदसिंह भण्डारी भने अनुसन्धानको दायराबाहिर रहनुले सरकारको सुशासनको नारामाथि नै प्रश्न उठेको हो ।
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा प्रतिव्यक्ति एक सय मलेसियन रिंगेट अतिरिक्त शुल्क असुल गरी अबौं रुपैयाँ विदेश पठाइएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव, शेरबहादुर कुँवर, पूर्वश्रमसचिव विनोद केसी र पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परिसकेका छन्। तर, रकम विदेश पठाउने क्रम जारी रहेका बेला श्रम मन्त्रालयको नेतृत्व गरेका डिपी अर्याल र शरदसिंह भण्डारीमाथि भने सिआइबीले औपचारिक अनुसन्धान अघि बढाएको छैन ।
अनुसन्धानमा उपलब्ध विवरणअनुसार २०७६ फागुनदेखि २०८० माघसम्म १७ पटकमा करिब एक अर्ब ६९ करोड रुपैयाँ मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा पुगेको थियो। यस अवधिमा विभिन्न मन्त्री र सचिवले श्रम मन्त्रालयको नेतृत्व गरेका थिए ।
उनीहरूमध्ये केही पक्राउ परिसक्दा समान प्रकृतिको जिम्मेवारीमा रहेका अरू व्यक्तिमाथि अनुसन्धान नहुनुले छानविनको निष्पक्षतामाथि प्रश्न उठाएको छ । सभामुख अर्याल श्रममन्त्री रहेका बेला पनि श्रमिकबाट उठाइएको रकम विदेश पठाउन मन्त्रालयबाट सिफारिस भएको विवरण सार्वजनिक भइसकेको छ ।
२०७९ माघ ५ गते उनको कार्यकालमा नौ लाख २५७ अमेरिकी डलर सटहीका लागि प्रक्रिया अघि बढेको थियो । त्यस्तै, दोस्रो कार्यकालमा २०८१ वैशाख २४ र जेठ ९ गते गरी दुईपटक २१ लाख ३१ हजार ७४० मलेसियन रिंगेट विदेश पठाउन सटही सुविधा माग गरिएको विवरण छ ।
यद्यपि, अर्यालले आफैँ मन्त्रीस्तरीय निर्णय गरेर रकम पठाएको प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन । अघिल्ला मन्त्रीका निर्णयलाई आधार बनाएर प्रक्रिया अघि बढाइएको भनिएको छ । यता, पूर्वमन्त्री शरदसिंह भण्डारीको कार्यकालमा मात्रै ६ पटक ठूलो परिमाणमा अमेरिकी डलर मलेसिया पठाइएको अनुसन्धान विवरणमा उल्लेख छ ।
२०७९ चैतदेखि २०८० माघसम्म उनको कार्यकालमा विभिन्न मितिमा रकम विदेश गएको देखिन्छ। तर, उनी पनि अहिलेसम्म अनुसन्धानको दायरामा तानिएका छैनन् । यी दुई व्यक्तिमाथि अनुसन्धान नहुनुको कारण राजनीतिक संरक्षणसँग जोडेर प्रश्न उठ्न थालेको छ ।
सभामुख डिपी अर्याल सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुँदै सभामुख भएका हुन् भने शरदसिंह भण्डारी वर्तमान मन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुन्। पारिवारिक र राजनीतिक सम्बन्धकै कारण उनीहरूलाई अनुसन्धानबाट बाहिर राखिएको हो कि भन्ने आशंका राजनीतिक वृत्तमा व्यक्त हुन थालेको छ ।
कानुनको नजरमा सबै समान हुने हो भने राजनीतिक पद, पारिवारिक सम्बन्ध वा सत्ता समीकरणका आधारमा अनुसन्धानको दायरा फरक हुन मिल्दैन । सरकारले सुशासनको नारा केवल विपक्षी र अघिल्लो सरकारका व्यक्तिमाथि कारबाही गरेर प्रमाणित गर्न सक्दैन ।
आफ्नै दलका नेता, सभामुख वा मन्त्रीका आफन्तमाथि पनि समान मापदण्ड लागू गर्न सक्नुपर्छ । श्रमिकको पसिनाबाट उठाइएको रकमको हिसाब खोज्ने क्रममा राजनीतिक पहुंच र पारिवारिक निकटताले कसैलाई उन्मुक्ति मिल्छ भने त्यो सुशासन होइन, संरक्षणवाद हो ।
अहिले सरकारमाथि उठेको मूल प्रश्न पनि यही हो कानून सबैका लागि बराबर हो कि पहुँचवालाका लागि छुट्टै व्यवस्था छ ।
सुकुम्वासीमाथि सरकारको अत्याचार
चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरको चुनावका बेला एक सञ्चारमाध्यममा 'गरिबको चमेली बोलिदिने कोही छैन' भन्दै र्याप गीत गाएका बालेन्द्र शाह बालेन मेयर बनेपछि तिनै गरिबहरू अर्थात् सुकुम्वासीमाथि जाइलागेका थिए गत वर्षको भदौ २३-२४ को जेनजी विद्रोहपछि भएको आकस्मिक प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झन्डै दुई तिहाइ ल्याएपछि संसदीय दलको नेता बन्दै मुलुकको कार्यकारी पद प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए।
काम गर्ने खुबै हुटहुटी देखाउँदै शपथ गरेको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएका बालेनले त्यसपछिको निसाना सुकुम्वासी बस्तीमा लगाएका थिए ।
सुकुम्वासीहरूलाई एकपछि अर्को अत्याचार गर्दै अघि बढेको सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित एमाले, नेकपा लगायतका दलहरूले वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई आश्रयस्थलबाट हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, सामाजिक न्याय र राज्यको दायित्वविपरीत भएको भन्दै विरोध गरेका छन् ।
जाडोयाममा सरकारले अस्थायी आश्रयस्थलबाट समेत हट्न आदेश दिँदै खाना र पानीसमेत उपलब्ध गराउन रोकेपछि विस्थापित परिवारसमेत सडकमा उत्रिएका छन् ।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सञ्चालित होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरेपछि विवाद चर्किएको थियो ।
प्रशासनले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको थियो । वास्तविक सुकुम्वासीको पहिचान, भूमिहीन परिवारको अभिलेख, वैकल्पिक आवास र पुनर्स्थापनाको स्पष्ट योजना ल्याउनुपर्नेमा अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई वैकल्पिक व्यवस्था नगरी जाडो याममा सडकमा पुऱ्याउनु सामाजिक न्यायको अवधारणासँग मेल नखाने सामाजिक अभियन्ताहरूको भनाइ छ ।
वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन नेपाली कांग्रेसले माग गरेको खबर देशान्तरमा उल्लेख छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पहिले जग्गाको टुंगो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुऱ्याउने अधिकार सरकारलाई नभएको जनाएका छन् ।
आङ्देम्बेले सरकारको उक्त कदमलाई संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ (१) ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउनुपर्ने बताएका छन् राज्यको जिम्मेबारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,' उनले भनेका छन् ।
