Friday 7th of August | २०८३ श्रावण २२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा छिमेकी पालिकाबीच सिकाइको अभ्यास

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २० बुधबार | रासस

 

भद्रपुर (झापा), २० साउनः आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित यहाँको कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । पालिकाबीचको अनुभव आदानप्रदानमार्फत सेवा सुधारका सम्भावना पहिचान गर्ने लक्ष्यसहित प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल नेतृत्वको टोली मङ्गलबार हल्दीबारी पुगेको थियो ।

 

भ्रमणका क्रममा टोलीले हल्दीबारी गाउँपालिकाद्वारा सञ्चालित १५ शय्याको आधारभूत अस्पताल, पशु अस्पताल तथा गाउँपालिकाका विभिन्न शाखाको प्रत्यक्ष अवलोकन गरेको थियो । टोलीले अस्पताल सञ्चालन व्यवस्थापन, सेवा प्रवाहको अवस्था, प्रशासनिक कार्यशैली तथा अन्य शाखाले प्रदान गरिरहेका सेवाबारे जानकारी लिएको हो ।

 

कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, लेखा शाखा प्रमुख तथा अस्पताल प्रमुखसहित पुगेको टोलीलाई हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका सुधार, अपनाएका नवप्रवर्तन तथा असल अभ्यासबारे जानकारी गराउनुभएको थियो ।

 

कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले छिमेकी पालिकाका असल अभ्यास, सेवा प्रवाहका तौरतरिका तथा कार्यसम्पादनका प्रभावकारी उपाय अध्ययन गर्न भ्रमण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू पालिकाले गरेका राम्रा काम हेरेर सिक्ने र आवश्यक विषयलाई आफ्नो पालिकामा लागू गर्ने उद्देश्य राखिएको छ । यस्ता भ्रमणले आफ्ना कमी–कमजोरी पहिचान गर्न र नयाँ सिकाइ हासिल गर्न सहयोग पुग्छ ।” 

 

पोख्रेलले आगामी दिनमा पनि जिल्लाका अन्य पालिकाहरूमा पुगेर अनुभव आदानप्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहले एकअर्काका राम्रा अभ्यास सिक्दै सेवा प्रवाहलाई थप जनमुखी र प्रभावकारी बनाउन सक्नेछन् । 

 

उक्त टोलीले हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसँग भेट गरी पालिकाले कार्यसम्पादनका क्रममा अपनाएका नीति, योजना र प्रशासनिक प्रक्रियाबारे छलफल गरेको थियो ।

 

हल्दीबारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेका अनुसार भ्रमणका क्रममा विभिन्न शाखाको काम, सेवा प्रवाह प्रणाली तथा स्थानीय तह सञ्चालनका अभ्यासबारे अनुभव आदानप्रदान गरिएको छ ।

–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan