५ महिनापछि स्वदेश फर्कँदै शेरबहादुर देउवा, २६ साउन साँझ काठमाडौं आइपुग्ने
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनापछि स्वदेश फर्कने भएका छन्।
स्वास्थ्य उपचारका लागि भन्दै विदेश गएका देउवा आगामी २६ साउनको साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको कांग्रेस स्रोतले जनाएको छ।
देउवा गत २१ फागुन मा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। विदेश बसाइका कारण उनले त्यसबेला भएको निर्वाचनमा मतदानसमेत गर्न सकेका थिएनन्।
लामो समयदेखि उपचार र स्वास्थ्य परीक्षणमा रहेका देउवा अब उपचार प्रक्रिया पूरा गरी स्वदेश फर्किन लागेका हुन्।
देउवाको स्वदेश फर्किने कार्यक्रमबारे कांग्रेसका वरिष्ठ नेता तथा देउवा निकट प्रकाशशरण महत ले पुष्टि गरेका छन्।
उनले देउवा २६ साउनको साँझ काठमाडौं आइपुग्ने जानकारी दिँदै परिवारका अन्य सदस्य सँगै फर्किने वा नफर्किने विषयमा भने आफूलाई जानकारी नभएको बताए।
महतले भने, "शेरबहादुर दाइ आउने कुरा मैले कन्फर्म गरेको हुँ। भाउजू र अरू को–को आउने भन्ने कुरा छ/छैन, त्यो थाहा भएन।"
देउवाको अनुपस्थितिमा नेपाली कांग्रेसभित्र नेतृत्व, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा विभिन्न तहमा छलफल हुँदै आएको थियो।
पछिल्लो समय पार्टीको आगामी रणनीति, सरकारसँगको सम्बन्ध तथा संगठनात्मक गतिविधिका विषयमा पनि उनको भूमिकालाई लिएर चासो बढेको छ।
स्वदेश फर्किएपछि देउवाले पार्टीका शीर्ष नेताहरूसँग परामर्श गर्ने, समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी लिने तथा कांग्रेसका आगामी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने अपेक्षा गरिएको छ।
कांग्रेसभित्र पनि उनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ, विशेषगरी बदलिँदो राजनीतिक समीकरण र पार्टीको भावी रणनीति तय गर्ने सन्दर्भमा।
देउवाको स्वास्थ्य अवस्थाबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक नगरिए पनि उपचार सफल रहेको र स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनी स्वदेश फर्किन लागेका हुन्।
उनको आगमनसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिले थप गति लिने विश्वास पार्टी वृत्तमा गरिएको छ।
