नवौँ बिआइबि बास्केटबल प्रारम्भ
काठमाडौँ, भदौ १ गते । बौद्ध इन्टरनेसनल स्कुलको आयोजनामा आइतबार नवौँ बिआइबि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ पनि उपस्थित हुनुहुन्थ्यो ।
पहिलो दिन चार खेल सम्पन्न भए । पहिलो दिन छात्रतर्फ एम्बासडरले बौद्ध इन्टरनेसनल स्कुललाई ४०–३० र मातृभूमिले निस्टलाई ७१–४१ ले पराजित गरे ।
यसैगरी छात्रातर्फको पहिलो खेलमा चाँडबागले लड्र्स लाइट एकडेमीलाई ३१–३३ तथा चेल्सीले मातृभूमिलाई २३–१४ ले हराए ।
आयोजकले यस वर्षदेखि प्रतियोगिताको दायरा फराकिलो गरी विद्यालयका साथै प्लस टु र कलेजका टिमहरुलाई पनि सहभागी गराएको जनाएको छ । विद्यालयतर्फ ३२ तथा प्लस टु र कलेजतर्फ १५ टिमले भाग लिएका छन् ।
