Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | रासस


राजकुमार पराजुली
काभ्रेपलाञ्चोक, ८ भदौः प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । 

रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । 

‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ । 

नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो सङ्ख्या बढ्दै गएको छ । मुख्य पूजा भने सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई ‘सवा–शताब्दी’देखि पुज्दै आइएको हो ।

नेपालको काभ्रेपलाञ्चोक जिल्लाबाहेक अन्य स्थानमा यस्तो पूजा गरिएको पाइँदैन । रजस्वला नभएका तथा ‘वेल–विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । यस मान्यताका साथ पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकको विभिन्न बजार तथा बस्तीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्ने प्रचलन विस्तार भएको छ । 

समितिका अनुसार उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार पारिएको छ । कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्तिको तय भइसकेको समितिका सचिव प्रकाश कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपा आसपास ‘सात गाउँ’का कन्यालाई बनेपामा पूजा गरिँदै आएको परम्परालाई व्यवस्थित गर्न समिति नै गठन गरी निरन्तरता दिइएको छ । 

कृष्ण जन्माष्टमीको दिनमा गरिने मुख्य कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत छिमेकी  जिल्लाबाट बर्सेनि करिब आठदेखि १० हजार हाराहारीमा कन्या सहभागी हुने गर्दछन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । जनविश्वासका कारण कन्यालाई पुज्नेको ठूलो भीड लाग्ने गर्छ । 

त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् । कन्या–पूजामा समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।

बनेपामा हुने कन्या–पूजामा प्रतिकन्या रु ५०० बराबरका सामग्री उपलब्ध गराइन्छ । गत वर्ष पनि करिब आठ हजार कन्याका लागि रु तीन करोडभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो । उहाँका अनुसार दाताको सहयोगबाहेकको खर्च समितिका पदाधिकारीले नै व्यहोर्दै आएका छन् । 

किंवदन्तीअनुसार रजस्वला नभएका र वेलविवाह नगरिएका कन्याको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्या मानवकन्याका भेषमा आउने भएकाले उनीहरूलाई आराध्यदेवी चण्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ । बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रूपमा ‘कन्या’नै भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । 

कन्याको स्वागत एवं सम्मानमा लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजासमेत बजाउँछन् । भोछिभोया खलक चण्डेश्वरीका सन्तति मानिने भएकाले कुनै जाति या वर्गको आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा गरिन्छ । बनेपा नपा–३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्यापूजा सुरु हुने गर्दछ ।

बनेपाको ऐतिहासिक लेखनअनुसार कुनै समय बनेपाका एक नेवार समुदाय (वैद्य)का व्यक्तिले धेरै दुःख भएपछि घरको बुइँगलमा राखेर कन्यालाई पूजा गरेका थिए । सुरुका वर्षमा नेवार समुदायका रजस्वला नभएका कन्यामात्रै पुजिँदै आएको र केही वर्षपछि सबै जातजातिका कन्यालाई पूजामा सामेल गराइएको स्थानीय बताउँछन् ।

पछिल्ला केही वर्षदेखि बनेपाका विभिन्न वडा तथा विभिन्न सङ्घसंस्थाले धुलिखेल, पनौती, पाँचखाल, दोलालघाटलगायतका स्थानमा कन्या पूजा आयोजना गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan