Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस/एएफपी)

संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले सोमबार जनाएको छ ।

इरानसँगको युद्धका कारण सैन्य बल उपलब्धतामा बाधा पुगेकाले यो निर्णय भएको हो ।

द्विवार्षिक स्याङयोङ अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका नौसैनिक बल सहभागी हुने प्रचलन छ । यो अभ्यास संयुक्त कारबाहीलाई सुदृढ बनाउन तयार गरिएको हो र सामान्यतया युद्धपोत, विमान र स्थल सेनाहरूले जमिन तथा समुद्रमा अवतरणको अभ्यास गर्छन् ।

यो रद्द हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता छुट्टै वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यासलाई छोट्ट्याउने आदेश दिनुभएपछि उक्त संयुक्त अभ्यासलाई पनि ११ दिनबाट घटाएर पाँच दिनमा झारिएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसबेला यसको उच्च लागत औँल्याउँदै यसले उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश पठाउने बताउनुभएको थियो । साथै उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई जोड दिनुभएको थियो । 

“अमेरिकी ‘मेरिन कोप्र्स’ले जुन महिनामा मध्यपूर्वको अवस्थाको कारण देखाउँदै हाम्रा फोर्सलाई औपचारिक रूपमा सूचित गर्दै यस वर्षको स्याङयोङ अभ्यासमा फोर्स तैनाथ गर्ने क्षमता सीमित हुनेछ भनेको थियो,” दक्षिण कोरियाली ‘मेरिन कोप्र्स’का प्रवक्ता हान सेउङ–जेओनले पत्रकार सम्मेलनमा भन्नुभयो । 

उहाँले भन्नुभयो, “सियोल र वाशिङटनले जमिन र समुद्रमा अवतरण गर्ने सैन्य अभ्यास पुनः कहिले सुरु गर्नेबारे परामर्श जारी राखिरहेका छन् तर यो कहिले हुने अहिले भन्न सकिँदैन ।” 

पेन्टागनले सियोलको घोषणाबारे टिप्पणी मागिएकोमा तत्काल प्रतिक्रिया दिएन।

गत साता ‘उल्ची फ्रिडम शिल्ड’ अभ्यास घटाउने आदेश राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग विकसित सम्बन्ध पुनः जीवित पार्ने प्रयासका बीच आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार किम जोङ उनसँग ‘मिल्नु’ महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले थप्नुभयो, “प्योङयाङसँग अहिले ५७ वटा ‘अत्यन्त शक्तिशाली’ परमाणु हतियार छन् ।

सियोलको अनुमानअनुसार उत्तर कोरियासँग करिब ८० देखि १२० वटा यस्ता हतियार छन् ।

राष्ट्रपति ट्रम्प र नेता किमले ट्रम्पको पहिलो कार्यकालमा तीन पटक भेट गरेका थिए । तर उनीहरूको सन् २०१९ को दोस्रो हनोई शिखर सम्मेलन उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणमा सहमति नजुटेपछि सफल हुन नसकेपछि प्योङयाङले आफ्नो परमाणु कार्यक्रम तीव्र बनाएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan