Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरान धराशायी बनेको राष्ट्रपति ट्रम्पको दावी, व्यापक ‘आर्थिक प्रतिबन्ध’ को चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस/एएफपी)

इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ। 

वाशिङटनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको छ ।

लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन् । शान्ति वार्ता ठप्प छ, इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ भने वाशिङ्टनले इरानविरूद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ ।

घरेलु राजनीतिमा युद्धका आर्थिक असरबारे दबाब खेपिरहेका ट्रम्पले सैन्य कारबाहीबाट आर्थिक उपायतर्फ मोडिनुभएको छ । 

“इरान पूर्ण रूपमा ‘धराशायीे’ भएको छ,” राष्ट्रपति ट्रम्पले सोमबार निजी लगानीको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नै शैलीमा ठूला अक्षरमा गरेको पोष्टमा भनिएको छ । 

उहाँका टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फाइनान्सियल टाइम्सका लागि लेखेको स्तम्भमा तेहरानविरुद्ध ‘आर्थिक सङ्कट’ सुरु भएको घोषणा गरेको केही घण्टापछि आएका हुन् । उहाँले इस्लामिक गणतन्त्रलाई सहयोग जारी राख्ने कुनै पनि देश ‘विश्वव्यापी बहिष्कृत’ बन्ने चेतावनी दिनुभएको थियो । 

बेसेन्टले एक्समा दाबी गर्नुभयो, “अमेरिकाले ‘इरानको सैन्य क्षमता ध्वस्त पारेको छ, करिब शतप्रतिशत सैन्य कारखाना नष्ट गरेको छ र यसको परमाणु कार्यक्रम विफल पारिसकेको छ।”

इरानले चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया दिँदै भनेको थियो, “अमेरिकी पछिल्ला उपायहरू सैन्य हार स्वीकार गरेको प्रमाण हो ।” तेहरानले वाशिङ्टनलाई सहयोग नगर्न देशहरूलाई चेतावनीसमेत दिएको छ। 

उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले एक्समा पोस्ट गर्दै भन्नुभयो, “वित्तीय युद्धतर्फ अमेरिकी मोडले बेसेन्टका दाबी झूटा साबित गर्छ।”

“तपाईंको कथा मिलेको छैन”, गरीबाबादीले भन्नुभयो, “यदि वाशिङ्टनले आफ्ना लक्ष्य हासिल गरिसकेको हो भने ‘इतिहासकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ र संयुक्त राज्य अमेरिकाका ‘सबै संस्था र शक्ति’ परिचालन गर्नुपर्ने आवश्यकता किन? “के यो विजय हो वा अमेरिकाको हार स्वीकार?”

अमेरिका र इजरायलले फेब्रुअरीमा युद्ध सुरु गर्दा इरानको परमाणु कार्यक्रमलाई जोडेका थिए तर लडाइँका सुरुवाती दिनदेखि नै ध्यान विश्वव्यापी तेल र ग्यास आपूर्ति मार्ग हर्मुज जलमार्गमा केन्द्रित भएको छ ।

तेहरानले अझै पनि जलमार्गमा नाकाबन्दी जारी राखेको छ। युद्धअघि यसले कुनै प्रतिबन्ध लगाएको थिएन। यसले विश्वव्यापी मुद्रास्फीति बढाएको छ र नोभेम्बरमा हुने मध्यावधि चुनावअघि ट्रम्पमाथि घरेलु दबाब बढाएको छ।

–तेल निर्यातमा तीव्र गिरावट–

बेसेन्टले सोमबार अमेरिकी योजनाका विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो तर वाशिङ्टनले तेहरानमाथि अझ कति आर्थिक दबाब दिन सक्छ भन्ने स्पष्ट छैन।

अमेरिकी नौसैनिक नाकाबन्दीका कारण हर्मुज जलमार्गसम्म इरानको तेल निर्यात युद्धअघिको दैनिक २० लाख ब्यारेलबाट अगस्टको मध्यसम्म घटेर मात्र चार लाख ब्यारेलमा झरेको समुद्री आवागमन निरिक्षण गर्ने संस्था केप्लरले जनाएको छ ।

यसैबीच देश दशकौँदेखि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धमा छ । सन् २०१५ को परमाणु सम्झौताअन्तर्गत छोटो समयका लागि केही खुकुलो भएको उक्त प्रतिबन्धलाई राष्ट्रपति ट्रम्पले पछि ‘अधिकतम दबाब’ अभियानअन्तर्गत तोड्नुभएको थियो ।

इस्लामिक गणतन्त्रले ती प्रयासहरू सामना गर्दै आएको छ र युद्धअघि पनि मुख्यतया चीनलाई लाखौँ ब्यारेल तेल निर्यात गर्दै र जटिल अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमार्फत प्रतिबन्ध छल्दै आएको थियो ।

बेसेन्ट र ट्रम्प दुवैले इरानलाई सहयोग नगर्न देशहरूलाई चेतावनी दिएका छन् । यसले उनीहरूको ध्यान परिवर्तन भएको सङ्केत गर्छ । अर्थमन्त्रीको ‘एफटी’ स्तम्भमा इरानलाई ‘तुष्ट’ र ‘सक्षम’ बनाउने राष्ट्रहरूमा जोड दिइएको थियो।

तेहरानले सोमबार देशहरूलाई अमेरिकी प्रयासमा सहकार्य नगर्न चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सहभागिताले निश्चित रूपमा ‘आफ्नै परिणाम’ ल्याउने बताउनुभयो । 

सामान्य इरानीहरूका लागि यो गतिरोध वर्षौंको उच्च मुद्रास्फीतिपछि अझ आर्थिक पीडा मात्र ल्याउने सम्भावना छ । डिसेम्बर र जनवरीमा यसले ठूलो सरकारविरोधी प्रदर्शन निम्त्याएको थियो ।

तेहरानकी ३२ वर्षीया फार्मासिस्ट सारा हसनबेगीले सरल शब्दमा भन्नुभयो, “यो साँच्चै धेरै कठिन छ। मानिसहरूले यति लामो समयसम्म सहन सक्छन् जस्तो मलाई लाग्दैन।”

आइतबार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानी समाजमा “व्यापक समस्या’ रहेको स्वीकार गर्नुभएको थियो । 

“हामी मुद्रास्फीति, जीविकोपार्जन तथा बेरोजगारीका समस्या पार गर्न र जनताको भविष्य सुनिश्चित गर्न हृदयदेखि प्रयासरत छौँ, ताकि उनीहरू मर्यादा र गर्वका साथ बाँच्न सकून्,” पेजेस्कियानले भन्नुभयो । 

–पाकिस्तानी प्रतिनिधिमण्डल तेहरानमा–

गत साता अपेक्षाकृत नरमपन्थी मानिएका इरानी राष्ट्रपतिले भन्नुभएको थियो, “हामी शक्ति र मर्यादाको स्थितिमा छौँ, अहिले नै युद्ध अन्त्य गर्नुपर्छ ।”

त्यसपछि सर्वोच्च नेता मोज्ताबा खामेनीले मुख्य सुरक्षा पदहरूमा कट्टरपन्थी नेताहरूलाई नियुक्त गर्नुभएको थियो । 

हसनबेगीले इरानीहरू शान्ति चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वाभाविक रूपमा वार्ता भनेको दुवै पक्षले सम्झौता गर्नुपर्छ। मेरो व्यक्तिगत धारणा के छ भने इरानले अहिले सम्झौता गर्नुपर्छ।” 

युद्धभर मध्यस्थकर्ताहरूको दबाबमा कूटनीतिक प्रयासहरूले द्वन्द्वको वार्तामार्फत अन्त्य खोज्दै आएका छन्।

सोमबार पाकिस्तानका सेना प्रमुख इरान आउने अपेक्षा गरिएको थियो। इस्लामाबाद अप्रिलको युद्धविराम हासिल गर्न सहयोगी मध्यस्थकर्ता हो । 

ओमानी परराष्ट्रमन्त्री बद्र अल–बुसाईदी पनि मङ्गलबार इरान आउने अपेक्षा गरिएको छ । मस्कट र तेहरान हर्मुजबाट आवागमन नियमन गर्ने सम्झौता खोजिरहेका छन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan