एमालेमा फेरि जिम्मेवारीको पुनर्विन्यास : ईश्वर पोखरेल स्थायी कमिटीमा, विद्यादेवी भण्डारी वरिष्ठ नेतामा प्रस्तावित
२९ केन्द्रिय सदस्य चयन
प्रदीप ज्ञवालीदेखि शिवमाया तुम्बाहाम्फेसम्म स्थायी कमिटीका लागि प्रस्ताव
काठमाडौं, ८ असोज । नेकपा एमालेले पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेको छ। जारी केन्द्रीय कमिटी बैठकमा पोखरेलसहित विभिन्न नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव अघि सारिएको हो।
केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्यका लागि प्रस्तावित नेताहरूमा प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी समेत रहेका छन्।
यससँगै एमालेको सांगठनिक संरचनामा थप पुनर्व्यवस्थापनको प्रक्रिया अघि बढेको देखिएको छ। लामो समय पार्टीको नेतृत्व तहमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका नेताहरूलाई स्थायी कमिटीमा समेट्ने प्रस्तावले आगामी दिनमा पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा उनीहरूको भूमिका थप स्पष्ट गर्नेछ।
यता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भने नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ। एमाले केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णयसहित केन्द्रीय कमिटीमा प्रस्ताव लगेको हो।
राष्ट्रपति पदमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेकी भण्डारी सक्रिय राजनीतिमा फर्कने विषय लामो समयदेखि राजनीतिक चर्चाको विषय बन्दै आएको थियो। उनलाई वरिष्ठ नेता बनाउने प्रस्तावसँगै एमालेभित्र उनको आगामी राजनीतिक भूमिकाबारे चासो थप बढेको छ।
केन्द्रीय कमिटी बैठकले प्रस्तुत भएका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय गर्नेछ। पार्टीको नेतृत्व तहमा नयाँ जिम्मेवारी बाँडफाँटसँगै एमालेको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे समेत बैठक महत्वपूर्ण हुने देखिएको छ।
यसअघि पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका नेताहरूलाई पुनः महत्वपूर्ण संरचनामा समेट्ने क्रमसँगै एमालेभित्र नेतृत्व व्यवस्थापनको प्रक्रिया अघि बढेको हो।
२९ केन्द्रिय सदस्य चयन
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २९ जनाको नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् । जसमध्ये काशीनाथ अधिकारी,देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे,प्रेम डंगोल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा,पाल्तेन शेर्पा, पुष्पा श्रेष्ठ,विनोद पाण्डे,जानुका सिंखडा छन् ।
त्यस्तै कौशला खत्री, महमुद इष्तियाक राई, प्रमोद यादव, डा. अव्दुल हुसेन, भवानी खापुङ, दिपक बहादुर साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी गुरुङ रहेका छन् । प्रस्तावित नाम आजै बसिरहेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो ।
यो पनि पढ्नुहोस् :
प्रदीप ज्ञवालीको प्रश्न : ‘सबैभन्दा धेरै अवसर पाउने नै किन असन्तुष्ट ?’
एमालेमा ज्ञवालीको तेस्रो प्रतिवेदन : ओलीको बचाउ, हारका अनेक कारण
