Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिणपूर्वी एसियामा चिनियाँ सैन्य पहुँच विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस/एएनआई)

हङकङ, १९ असोज : चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको राजधानी भियन्टियानबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बान केउनमा नयाँ हवाई सैन्य सुविधा सञ्चालनमा ल्याएको छ ।

चीनले सन् २०१७ मा जिबुटीमा पहिलो विदेशी सैन्य आधार स्थापना गरेपछि दक्षिणपूर्वी एसियामा कम्बोडियाको नौसैनिक सुविधापछि लाओसमा यस्तो हवाई केन्द्र सञ्चालनमा ल्याएको हो ।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयले सेप्टेम्बर २९ मा बान केउनमा चीन–लाओस संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र र मैत्री उड्डयन एकेडेमी सञ्चालनमा आएको जानकारी दिएको थियो ।

उद्घाटन समारोहमा लाओसका रक्षामन्त्री खामलिएङ ओथाकेसन सहभागी हुनुभएको थियो । चीनले केन्द्रको उद्देश्य लाओसका वायुसेना पाइलटको प्रशिक्षण क्षमता अभिवृद्धि गर्नु तथा दुई सेनाबीचको व्यावहारिक सहयोग विस्तार गर्नु रहेको जनाएको छ ।

बान केउनमा दुई हजार मिटर लामो पक्की धावनमार्ग, ट्याक्सीवे, पार्किङ एप्रन, हवाई यातायात नियन्त्रण टावर र पाँचवटा ह्याङ्गर छन् । चीनले उक्त सुविधा कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको र क्षेत्रीय शान्ति तथा स्थायित्वमा योगदान पुर्‍याउने बताएको छ ।

तर चिनियाँ सैन्य टिप्पणीकारहरूका अनुसार चीनले बान केउनलाई लाओसको वायुसेना प्रशिक्षणका साथै क्षेत्रीय हवाई अभ्यास र इन्डोचाइना क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि उपयोग गर्न सक्ने सम्भावना छ ।

चीन–लाओस रेलमार्गसँगको निकटता तथा राजधानीनजिकको अवस्थिति भएकाले कर्मचारी र उपकरण सार्न पनि सहज हुने बताइएको छ ।

लाओसको वायुसेनाले रुसी तथा चिनियाँ निर्मित विमान र हेलिकप्टर प्रयोग गर्दै आएको छ । नयाँ केन्द्रमा चीनले कस्ता विमान वा कति सैनिक तैनाथ गर्ने भन्ने स्पष्ट गरेको छैन ।

अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटले पनि चिनियाँ सैनिक तथा उपकरण स्थायी रूपमा तैनाथ हुनेबारे पर्याप्त जानकारी नभएको जनाएको छ । यद्यपि, लाओसमा निरन्तर सैन्य उपस्थिति कायम गर्नु र दुई देशका सेनाबीच सम्बन्ध गहिरो बनाउनु यसको प्रमुख महत्त्व हुन सक्ने उसको मूल्याङ्कन छ ।

कम्बोडियाको रेम नौसैनिक सुविधासँगै लाओसको नयाँ हवाई केन्द्रले इन्डोचाइना क्षेत्रमा चीनको सैन्य पहुँच विस्तार भएको देखाउँछ । रेममा चीन र कम्बोडियाले सन् २०२५ मा संयुक्त समर्थन तथा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए ।

चीनले त्यहाँ पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै आफ्ना युद्धपोतसमेत पठाउँदै आएको छ । कम्बोडियाले भने उक्त सुविधा अन्य मित्रराष्ट्रका नौसेनाका लागि पनि खुला रहेको बताउँदै आएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नयाँ उड्डयन केन्द्रले पाइलट, स्थल कर्मचारी र अन्य उड्डयन जनशक्तिको प्रशिक्षण प्रणाली विकास गर्न सहयोग गर्नेछ । यसबाट लाओसको चीन, रूस र भियतनाममा हुने विदेशी प्रशिक्षणमाथिको निर्भरता घटाउने उद्देश्य रहेको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले चीनले विदेशमा सैन्य सुविधाहरू विस्तार गरी लामो दूरीमा सैन्य शक्ति परिचालन गर्ने क्षमता बढाइरहेको उल्लेख गर्दै आएको छ ।

यद्यपि, उसको अघिल्लो सम्भावित सैन्य आधारसम्बन्धी सूचीमा लाओसको नाम थिएन । नयाँ बान केउन केन्द्रले चीनको क्षेत्रीय सैन्य उपस्थिति, प्रशिक्षण तथा रक्षा सम्बन्ध विस्तारमा कस्तो भूमिका खेल्छ भन्ने कुरा भने चीन र लाओसबीचका सम्झौता तथा त्यसको वास्तविक प्रयोगमा निर्भर हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan