पिल्लेले पुरस्कार ‘अन्तर्राष्ट्रिय अपराधका पीडितहरू’लाई समर्पण गर्ने घोषणा
सन् २०२६ को नोबेल शान्ति पुरस्कार विजेता दक्षिण अफ्रिकाकी नावी पिल्लेले शुक्रबार आफ्नो पुरस्कार ‘अन्तर्राष्ट्रिय अपराधका पीडितहरू’लाई समर्पण गर्दै विश्वका नेताहरूलाई अन्तर्राष्ट्रिय कानूनी संस्थाहरूको सम्मान गर्न आह्वान गर्नुभएको छ ।
“म यो (नोबेल शान्ति) पुरस्कार सबै अन्तर्राष्ट्रिय अपराधका पीडितहरूलाई समर्पण गर्न चाहन्छु,” पिल्लेले प्रेस सम्मेलनमा भन्नुभयो ।
उहाँले दोस्रो विश्वयुद्धपछि नाजी नेताहरूमाथि मुद्दा चलाइएको जर्मनीको न्युरेम्बर्गको ऐतिहासिक अदालत कक्षमा यो वक्तव्य दिनुभएको थियो ।
पिल्लेले भन्नुभयो, “पुरस्कार घोषणा हुँदा म यस ऐतिहासिक अदालत कक्षमा थिएँ । मलाई पुरस्कारको जानकारी त्यहीँ दिइयो, सायद यस्तै हुनुपर्ने थियो ।”
अन्तर्राष्ट्रिय कानूनको रक्षामा आफ्नो कर्म बिताएकी ८५ वर्षीया पिल्लेले अन्तर्राष्ट्रिय कानूनी संस्थाहरूमाथि भइरहेका आक्रमणको पनि निन्दा गर्नुभएको छ।
“हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ अन्तर्राष्ट्रिय कानून र मानव अधिकार महत्त्वपूर्ण राजनीतिक आक्रमणमा छन्,” पिल्लेले भन्नुभयो । उहाँ हाल अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत रहनुभएको छ, जहाँ म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दाबारे सुनुवाई चलिरहेको छ ।
“यो बिग्रँदो वास्तविकता विशेष गरी अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि भइरहेका आक्रमणहरूमा स्पष्ट देखिन्छ,” उहाँले भन्नुभयो ।
