Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरमा नवरात्रि मेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |

भक्तपुर, २६ असोजः घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ । 

आश्विन शुक्ल प्रतिपदाको दिन गएरातिदेखि ब्रह्मायणी मन्दिरमा नवरात्रि मेला सुरु भएको छ । मेला भर्न रातभरि दर्शनार्थीहरुले ब्रह्मायणीमा गएर मेला भरेका छन् । भक्तपुरका नौ वटा शक्ति पीठमा नौ दिनसम्म राति मेला लाग्ने गर्दछ ।

घटस्थापनाको दिन राति–रातिदेखि सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्ति पीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले टोलटोलबाट बाँसुरी, धिमे बाजाहरुका बजाउँदै शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । टोलटोलबाट स्थानीयवासी विभिन्न बाजागाजासहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ । 

नवरात्रि मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दसैँको नवरात्रि समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद् प्रकाशचन्द्र धौभडेलले जानकारी दिनुभयो । 

नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ब्रह्मायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातिभरि र दशमीको दिनभरि ब्रह्मायणी मन्दिरमा हजारौँको भीडमा ठूलो मेला लाग्ने गर्दछ ।

त्यसको भोलिपल्ट राति भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात् खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्ह्याकेगू जात्रा पनि भन्ने गर्दछन् । 

दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराका रुपमा नौराते अर्थात् नवरात्रि जात्रा चलिआएको उहाँको भनाइ छ ।

यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan