छेपारे पहिरोकोे पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’
छेपारे (म्याग्दी), २८ असोजः म्याग्दीको बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । यही असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ । आमाको शवसमेत फेला नपरेपछि २६ असोजमा कुशको शव बनाएर दाहसंस्कार गरियो । अहिले दुवै दाजुभाइ आमाको किरियामा छन् ।
परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष छ महिना प्रयासपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुग्नुभएका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाउनुभएन । दुई छोराले आमाको माया गुमाए । परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ ।
बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पुजन र जीवनका लागि आमाको अभाव जीवनकै ठूलो पीडा बनेको छ । कलिलो उमेरमै आमाको काख गुमाएका उनीहरूको भविष्यमा परेको यो चोट शब्दमा व्यक्त गर्न कठिन छ ।
कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले पहिरोले घरबाससँगै परिवारको सहारा पनि खोसेको बताउनुभयो । “बुहारीसँगै घर र दुईवटा गोठ पहिरोले बगायो”, आँसु झार्दै जीतबहादुर दम्पतीले भन्नुभयो, “घर धानेकी बुहारी रहिनन् । वर्षौँको मिहिनेत र पसिनाले बनाएको घरगोठ पनि रहेन ।”
असोज ८ गतेदेखि परेको अविरल वर्षापछि छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो । बेनीमा बस्दै आएकी कुमारी १० गते साँझ छोराहरूसँग गाउँ पुग्नुभएको थियो । भोलिपल्ट बिहान घरका सामान निकालेर सुरक्षित स्थानमा सार्ने क्रममा अचानक ठूलो पहिरो खस्यो । सामान जोगाउने प्रयासमा रहनुभएकी कुमारी त्यसैमा पुरिनुभयो ।
“सानो पहिरो खस्न थालेपछि अघिल्लो दिनदेखि नै सामान सारिरहेका थियौँ”, आफन्तसमेत रहनुभएका छिमेकी जगबहादुर विकले भन्नुभयो, “१६ दिनसम्म भेटिन्छिन् कि भनेर दिनहुँजसो खोज्यौँ । नभेटिएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्यौँ ।”
पहिरोबाट भागेर कुमारीका दुवै छोरा र सासू जीतमायाले ज्यान जोगाउनुभयो । कुमारीकी छिमेकी मनमाया घर्तीको घरगोठ पनि पहिरोले नामनिसान नरहनेगरी बगाएको छ । कुमारीकी दिदी मनिषा सुनारको घर आधा भत्किएको छ । घरमा बस्न सक्ने अवस्था छैन ।
“घर नभए पनि पछि बनाउन सकिन्छ”, मनिषाले भन्नुभयो, “तर साहारा र साथ दिने बहिनी नै गुमाउनुपर्दा मन थाम्न सकेकी छैन ।” श्रीमान् विदेशमा रहेकाले दुई भतिजको अभिभावकत्वसमेत आफैँले लिएर उनीहरूलाई पढाउने मनिषाको योजना छ ।
पहिरोका कारण जगबहादुर छन्त्याल र जीतबहादुर विकको परिवार पनि विस्थापित भएको छ । वडाध्यक्ष पदम पुनका अनुसार बस्तीमाथिको पाखोमा नयाँ पहिरो सृजना भएको छ । पहिरोबाट विस्थापित परिवारलाई हाल खाली घरमा राखिएको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यको नीति र कार्यक्रमअनुसार सहजीकरण गरिने उहाँले बताउनुभयो ।
पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइप लाइनमा समेत क्षति पुर्याएको छ । स्थानीय बासिन्दा विनोद विश्वकर्माका अनुसार दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न नसके छेपारे बस्ती नै विस्थापित हुने जोखिम छ ।
“सुन्तलाखेती विस्तार गरेर समृद्धितर्फ अघि बढिरहेको गाउँको यात्रामा पहिरो बाधक बनेको छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रण र बस्ती संरक्षण गर्न नसके अहिले बसोबास गरिरहेका १०–१५ घरपरिवारले पनि गाउँ छाड्नुपर्ने अवस्था आउन सक्छ ।”
छेपारेमा पहिरोले भत्काएका घर फेरि बनाउन सकिएला, पुरिएको जमिन पनि कुनै दिन फर्किएला । तर, आमाको काख गुमाएका पुजन र जीवनले गुमाएको माया र परिवारले गुमाएको सदस्यको रिक्तता कसरी पूर्ति होला ? गाउँलेका मनमा यही प्रश्नसँगै पहिरोको त्रास र पुनःस्थापनाको चिन्ता बाँकी छ ।

