खगेन्द्र सुनारको भनाइ : ‘म माथि निर्मम छानबिन होस्, महिलामाथिको आक्रमण स्वीकार्य छैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत चुनौती दिएका छन् ।
सुनारले आफूले कुनै गल्ती वा अपराध गरेको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उल्लेख गर्दै आफ्नो कारणले पार्टी, सरकार वा राज्यका कुनै पनि निकायले अप्ठ्यारोमा पर्न नहुने बताएका छन् । उनले आफूविरुद्ध उठेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने र दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन् ।
‘माथि निर्मम छानबिन गरियोस् । आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्,’ उनले फेसबुकमा लेखेका छन्, ‘म र मैले गरेको कुनै पनि कु-कर्मको पार्टी, सरकार सती जान पर्दैन ।’
सुनारले आफूमाथि आरोप लागेकै आधारमा पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक तथा मतदाताले शिर झुकाउनुपर्ने अवस्था नरहेको पनि बताएका छन् । उनले पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको उल्लेख गरेका छन् ।
तर, उनले आफूमाथिका आरोपसँग जोडेर एक महिलामाथि भइरहेको भनिएको सञ्चारमाध्यमको प्रचार, टिप्पणी र सामाजिक व्यवहारप्रति आपत्ति जनाएका छन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलालाई विभिन्न फोटो, अडियो र भिडियो जोडेर अतिरञ्जित ढङ्गले प्रस्तुत गर्नु तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत अनावश्यक टिप्पणी गर्नु स्वीकार्य नहुने उनको भनाइ छ ।
सुनारले कुनै व्यक्तिले विगतमा दुःख दिएको थियो भन्ने कथित बुझाइका आधारमा महिलालाई निरन्तर लखेट्नु उचित नभएको तर्क गरेका छन् । आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित व्यक्तिको गोपनीयताको सम्मान गर्दै प्रहरी वा अदालतबाट अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ ।
उनले आफ्नो फेसबुक अभिव्यक्तिमा प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग जोडिएका घटनाक्रमबारे पनि उल्लेख गरेका छन् । उनका अनुसार सम्बन्धित महिलालाई पटक–पटक भेट्न बोलाइएको र मुद्दा हाल्न भनिएको थियो । तर, आफू अन्यायमा परेको भए आफैँ मुद्दा हाल्ने र आफ्नो जीवनबारे सचेत रहेको ती महिलाले जवाफ दिएको सुनारको दाबी छ ।
सुनारले त्यसपछि आफूहरू दुवैलाई एकैपटक सिध्याउने धम्की दिइएको र त्यसको केही दिनपछि अहिलेको घटनाक्रम अघि बढेको दाबीसमेत गरेका छन् । यद्यपि, उनले उल्लेख गरेका घटनाक्रम र आरोपबारे सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया तथा स्वतन्त्र पुष्टि उपलब्ध छैन ।
आफूले कुनै विषयमा प्रश्न उठाएको वा मुद्दा अघि सारेको भन्दै आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नभएको उल्लेख गर्दै सुनारले आरोपको निष्पक्ष छानबिन र कानुनी प्रक्रियालाई स्वीकार गर्ने बताएका छन् ।
‘जे कारबाही हो, ममाथि होस्—मलाई स्वीकार छ । उहाँमाथिको आक्रमण मान्य छैन । त्यो गलत छ,’ उनले लेखेका छन् ।

